आर्थिक संकटका बेला शीतल निवासमा विद्यादेवी भण्डारीको महँगो रात्रिभोज र नाचगान, देउवाद्वारा बहिष्कार

काठमाडौं । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सांसदहरूलाई बोलाएर शीतल निवासमा नाचगानसहित रात्रि भोज गरेकी छिन् ।

राष्ट्रपति पद फुत्किन केही हप्ता बाँकी रहेका बेला शनिबार भण्डारीले सरकारी निवास शीतल निवासभित्र मनोरञ्जन गरेकी छिन् । भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई बोलाएर रात्रि भोज खुवाएकी छिन् । भण्डारीले रात्रि भोज सरकारी पैसामा गरेकी हुन् ।

सांसदहरूलाई भण्डारीले मासु, भात, फलफूल, मीठाइ लगायतका महँगा खानेकुरा खुवाएको एक सांसद बताएका छन् ।

रात्रि भोज र नाचगान हेर्न उप–राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रतिनिधिलगायत विशिष्ट पाहुनाको सहभागिता रहेको सांसदहरूले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपतिको रात्रि भोज खान र नाचगान हेर्न गएनन् ।

दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले आफू चढ्न सबैभन्दा महँगो हेलिकप्टर किनेकी थिइन् । आफ्नो निवासमा सरकारी पैसा खर्च गरेर महँगा गलैचादेखि विलासिताका सामग्री खरिद गरेको भनेर आलोचना भएको थियो ।

संविधान विपरितका कार्य गरेको भण्डारीलाई आरोप छ । खड्गप्रसाद ओलीले विधेयकहरू शीतल निवास पठाउँदा तत्काल प्रमाणित गरेर सार्वजनिक गर्ने गरेकी थिइन् ।

तर, शेरबहादुर देउवासहितका अन्य प्रधानमन्त्रीले विधेयक पठाउँदा अड्कार राख्ने गरेकी थिइन् ।

दुई कार्यकालमा भण्डारीले निकै विवादास्पद कार्य गरेकी छिन् । उनले एमालेका उपाध्यक्षभन्दा माथि उठेर निष्पक्ष रुपमा काम गर्न नसकेको आरोप छ ।

भण्डारीले शीतल निवासमा बसेर एमालेको संगठन चलाएको आरोप छ ।

मुलुक आर्थिकमन्दीको चपेटामा परेको छ । अर्थतन्त्रमा सुधार भएन भने चैत महिनादेखि तलब खुवाउने पैसा अभाव रहेको चर्चा भइरहेका बेला राष्ट्रपति भण्डारीले शीतल निवासमा सरकारी पैसा खर्च गरेर नाचगानसहित सांसद र भीभीआईपीहरूलाई रात्रिभोज खुवाएकी छिन् ।

Published : Saturday, 2023 February 11, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया