कम्युनिस्ट मिलेपछि कांग्रेसले राष्ट्रिय सभामा एक पद गुमायो

काठमाडौं । राष्ट्रिय सभाको एक पदका लागि भएको उप–निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका एमालेका कुमार दसौदी विजयी भएका छन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि बुधबार घोराहीमा मतदान भएको थियो ।

दसौदीले ४ हजार २६ मतभारप्राप्त गरी विजयी भएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेका दसौदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका माधवप्रसाद आचार्यले ३ हजार ७२० मतभार प्राप्त गरेर पराजित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार रहेका राजेन्द्रवीर रायले १४४ मतभार प्राप्त गरेका थिए ।

उप–निर्वाचनमा लुम्बिनी प्रदेशभित्र रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप–प्रमुख २१८ जना र प्रदेश सभाका सदस्य ८७ जना गरी जम्मा ३०५ जना मतदाता रहेका थिए ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप–प्रमुख २१७ जना मतदाता तथा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

निर्वाचन प्रणालीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप–प्रमुखको मतभार प्रतिमतदाता १८ र प्रदेश सभा सदस्यको मतभार प्रतिमतदाता ४८ मतभार रहने व्यवस्था छ ।

एमालेका उम्मेदवार दसौदीलाई माओवादी केन्द्र, राप्रपाले मतदान गरेका थिए । पराजित भएर कांग्रेसले राष्ट्रिय सभामा एक पद गुमाएको छ ।

Published : Wednesday, 2023 February 8, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया