लुम्बिनीमा राम कथा प्रवचन रोक्न बौद्ध धर्मालम्बीका केही संगठनको अबरोध प्रयास

लुम्बिनी । लुम्बिनी परिसरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा हुन लागेको ‘राम कथा’ प्रवचनको बौद्ध धर्मालम्बीहरूले विरोध गरेका छन् ।

भारतका प्रख्यात सन्त मोरारी बापूले मंगलबारबाट राम कथा प्रवचनको कार्यक्रम राखेका छन् । लुम्बिनी परिसरभित्र राम कथा हुन नदिनेभन्दै बौद्ध धर्मालम्बीहरूले सोमबार लुम्बिनीको पर्सा चोकमा प्रदर्शन गरेका थिए ।

पाल्पा, रुपन्देहीलगायत विभिन्न जिल्लाबाट गाडीबाट आएका बौद्ध धर्मालम्बीसम्बन्धी संघ संगठनका समर्थकले प्रदर्शन गरेका हुन् । उनीहरूले लुम्बिनी विकास कोष र रुपन्देहीको स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाएर मोरारी बापूको राम कथा प्रवचन रोक्ने प्रयास गरेका थिए ।

तर, लुम्बिनी विकास कोष र रुपन्देहीको स्थानीय प्रशासनले लुम्बिनी सबैको साझा धरोहर र आस्थाको केन्द्र भएकाले राम कथा प्रवचन रोक्न नमिल्ने जवाफ दिएको थियो ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले गौतम बुद्ध र लुम्बिनीमा हिन्दूहरूको पनि आस्थाको केन्द्र रहेको भन्दै राम कथा प्रवचन रोक्न नसकिने बताए ।

राम कथा प्रवचन हुन भएपछि लुम्बिनीका होटेलहरू खचाखच भरिएका छन् । प्रवचनको कार्यक्रमले लुम्बिनीमा पर्यटन झन् बढ्ने अनुमान होटेल व्यवसायीहरूको छ ।

सोमबार प्रहरीले प्रदर्शनकारी बौद्ध धर्मालम्बीहरूलाई गाडीमा हालेर गन्तव्यतर्फ पठाइदिएका थियो । मंगलबार अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको सूचना अधिकृत बस्नेतले बताएका छन् ।

राम कथा रोक्न घरेलु हातहतियारसहित बौद्ध धर्मालम्बीहरूले पर्सा चौकमा प्रदर्शन गरेपछि प्रहरीले संयमतापूर्वक सम्झाएर ती प्रदर्शनकारीलाई पठाएको थियो ।

स्थानीय हिन्दु युवाहरूले लुम्बिनी हिन्दुको पनि धार्मिकस्थल होभन्दै बौद्ध धर्मालम्बीहरूको विरोधको प्रतिवाद गरेका थिए ।

प्रदर्शनमा उत्रिएका बौद्ध धर्मालम्बीहरूले सोमबार पर्सा चोकमा केही हिन्दुहरूलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

राम कथा प्रेम यज्ञ समितिको आयोजनामा मंगलबारदेखि लुम्बिनीमा रहेको रामकथा प्रवचन हुन लागेको छ । मोरारी बापूले प्रवचन दिनेछन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छा अनुसार नै मोरारी बापू लुम्बिनी आएको आयोजकले बताएका छन् ।

मंगलबारदेखि ९ दिनसम्म कथा वाचन हुनेछ । मोरारी बापूसहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार उत्रिएको छ ।

मोरारी बापूले गौतम बुद्धको दर्शन गर्नुका साथै दीप प्रज्वलन गरेका छन् ।

Published : Tuesday, 2023 February 7, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया