कांग्रेस छिट्ट सरकारमा जान्छ : प्रवक्ता डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता जनता नरुचाएकाहरूले सरकार चलाउँदा राम्रो काम हुन नसकेको बताएका छन् ।
बुधबार नुवाकोटको तादी गाउँपालिकामा आयोजित कार्यक्रममा प्रवक्ता डा.महतले कांग्रेस छिट्टै सरकारमा पुग्ने बताए ।
प्रतिनिधि सभाका सांसद समेत रहेका डा.महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताए ।
उनले कांग्रेस सरकारमा पुगेपछि नुवाकोटसहित देशभर नै समृद्धि आउने बताएका छन् ।
उनले भने, ‘गठबन्धन गरेर एकआपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्यौं ।’
‘गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो’, उनले भने, ‘ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविकरुपमा लिएका छौं ।’
कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमा नै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न ।’
उनले प्रतिपक्षमा रहेको कांग्रेसले सत्ता बाहिर रहँदा सरकारको राम्रो कामको प्रशंसा गर्ने र गलत कामको गलत भन्ने मात्र नभई रोक्नका लागि सम्पूर्ण शक्ति लगाउने बताएका छन् ।
डा.महतले खेलले शारीरिक तन्दुरुस्ती र मानसिक स्फूर्तिसमेत दिने भएकाले खेललाई मनोरञ्जन मात्रै नभई स्वस्थ्य जीवनका लागि अपरिहार्यता रहेको उल्लेख गरेका छन् ।
खेलकुदले बहुआयामिक लाभ पुग्ने भन्दै डा.महतले विकास, परिवर्तन र राष्ट्रिय एकतामा खेल र संस्कृति सबैभन्दा बलियो हतियार रहेकाले राजनीतिक हस्ताक्षेपमुक्त भएर यसको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
तादी गाउँपालिकामा बुधबारदेखि ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’ सुरु भएको छ ।








बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया