विन्दुलाई विमानस्थलमा जागिर खुवाउन हाकिमहरूबीच तछाडमछाड

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले दिएको निर्देशन विपरित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा एकजना महिलालाई पुनः जागिरमा लगाउन दवाव परेको छ ।

विन्दु मल्लिक कर्णलाई विमानस्थलमा जागिरमा पुनः लगाउन दवाव परेको हो । विन्दुलाई जागिरमा पुनः फर्काउन नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च हाकिमहरूबीच तछाडमछाडनै भएको छ । विन्दुलाई जागिरमा फर्काउन ती उच्च कर्मचारीहरू किन यति धेरै पछाडि परेका हुन् ? विमानस्थलका कर्मचारीहरू चकित परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले विन्दुलाई जागिरमा लगाउन दवाव दिएको विमास्थल उच्च स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले समेत विन्दुलाई जागिरमा लगाउन दवाव दिएको आरोप छ । विन्दुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ऐन र कानून विपरित जागिर खाएकी थिइन् । विन्दुविरुद्ध अख्तियारको बुटवल कार्यालयमा उजुरी परेको थियो ।

अख्तियारको बुटवल कार्यालयले मौखिक रुपमा विन्दुलाई हटाउन र ऐन, कानूनलाई ध्यान दिन निर्देशन दिएको थियो । अख्तियारले निर्देशन दिएपछि गौतम बुद्ध विमानस्थलको नेतृत्वले निर्देशन कार्यान्वयन गरेको छ । तर, प्राधिकरणको नेतृत्वले ‘मेरोविरुद्ध अख्तियारमा १४० वटा उजुरी छ । डराएको छैन । तपाई किन डराउने ? विन्दु मल्लिक कर्णलाई जागिरमा पुनः लगाउनुस् । अख्तियारलाई मैले मिलाउँछु’ भनेर दवाव दिएको स्रोतले उल्लेख गरेको छ ।

Published : Monday, 2023 January 23, 7:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया