राष्ट्रपति र उप–राष्ट्रपति निर्वाचनबारे कांग्रेस प्रवक्ता डा.महतको यस्तोछ खुलासा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सांसद डा.प्रकाशशरण महतले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तीर्ण हुने नहुने केही समयभित्रै देखिने बताएका छन् ।

शनिबार प्रतिनिधि सभा भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सभामुख र उप–सभामुख प्रकरण सकिएको छ । यो परीक्षणमा उहाँ (प्रचण्ड) उत्तीर्ण हुनुभएको छैन ।’

‘अब राष्ट्रपति र उप–राष्ट्रपति निर्वाचन आउँदैछ । त्यो सबैभन्दा महत्वपूर्ण परीक्षणको घडी छ’, डा.महतले भने, ‘त्यो परीक्षणमा उत्तीर्ण हुने वा नहुने, कहाँ उभिने, कहाँ नउभिने ? प्रधानमन्त्री प्रचण्डजीको हातमा छ ।’

कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जी संविधानको पक्षमा उभिन्छु भनेर संविधान रक्षाको लागि गठबन्धन बन्यो । अहिले पुरानो गठबन्धन छाडेर प्रचण्डजी जानुभयो ।’

उनले भने, ‘अहिलेको परिवेशमा संविधानमाथिको खतरा फेरि प्रकण भएको छ । केपी ओलीजी जसरी प्रस्तुत हुनुभएको छ त्यसले खतरा पैदा भएको छ । संसदको विघटनको विषयलाई ओलीजीले प्रमुख विषय बनाउनुभएको छ ।’

‘यस विषयमा हामी जागरुक भएका हौँ । सबैको ध्यानाकर्षण गराएका हौँ’, उनले भने, ‘प्रधानमन्त्रीजी पनि कहाँ उभिने ? संविधान रक्षाको पक्षमा उभिने कि ? नउभिने ? प्रधानमन्त्रीमा निर्भर गर्दछ । अन्य दलहरू पनि ठूलो कुरा गर्ने । संविधानको महत्वपूर्ण विषय आउँदा सत्ता स्वार्थमा मन्टो लुकाएर बस्ने भयो भने परिणाम अर्को हुन्छ ।’

Published : Saturday, 2023 January 21, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया