कांग्रेसले जहाजको कुरा उठाएपछि मन्त्री ‘इन्तुन चिन्तु’, प्रदीप अधिकारीले सरकार डुबाए

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पोखरामा भएको जहाज दुर्घटनाका विषयमा सरकारको जवाफ माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शुरुमै समय लिएर बोल्दै लेखकले पोखरामा ७२ जनाको ज्यान जाने गरी भएको यती एयरलाईन्सको जहाज दुर्घटनाका बारेमा सरकारसँग जानकारी माग गरेका हुन् । उनले संसदमा सरकारले जहाज दुर्घटनाबारे जानकारी दिने विषयमा कार्यसूचीमा नराखेकोमा चिन्ता जनाए ।

उनले शवहरू फेला परे पनि धेरै आफन्तजनहरूले शव पाउन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले शवहरू आफन्तलाई छिटो उपलब्ध गराउन माग गरे ।

कांग्रेसका प्रमुख सचेतक लेखकले भने, ‘जहाज दुर्घटनाको घटनाले पर्यटनको क्षेत्रलाई नराम्रोसँग प्रभावित गरेको छ ।’

‘सरकारले ५ सदस्यीय छानविन समिति बनाएको छ । त्यो छानविन समितिले आफ्नो समय अवधिभित्र विस्तृत प्रतिवेदन प्रस्तुत गर्ने नै छ’, लेखकले भने, ‘अहिले अधिवेशन चालु रहेको छ । संसदको बैठक आज पनि बसेको छ ।’

उनले भने, ‘मैले अपेक्षा गरेको थिएँ । यत्रो ठूलो हवाई दुर्घटना भइसकेपछि देशभित्र र अन्तर्राष्ट्रिय जगतमा चासो र चिन्ता भइरहेको बेलामा धेरै ठूलो पीडाको अनुभूति गरेको बेलामा आजको यो बैठकमा, यो विषयमा सरकार प्रस्तुत हुनेछ भन्ने लागेको थियो । के भएको थियो ? र अहिले के भइरहेको छ ? भन्ने कुरामा सरकारले सदनलाई जानकारी गराउँथ्यो । सदनमार्फत देशबासी र अन्तर्राष्ट्रिय जगतलाई पनि यसका बारेमा जानकारी गराउने आधिकारिक थलो सदनमा जानकारीका साथ उपस्थित हुन्थ्यो भन्ने आशा र अपेक्षा गरेको थिएँ ।’

‘बडो दुःखका साथ मैले निवेदन गर्नु परेको छ । आजको कार्यसूचीमा जहाज दुर्घटनाको जानकारी दिने कुरा छैन’, उनले भने, ‘संसदको कारबाही स्थगन गरेर भए पनि जहाज दुर्घटनाबारे जानकारी दिनुपर्छ ।’

लेखकले भने, ‘सरकार भरखरै गठन भएको छ । सरकारका बारेमा धेरै टिकाटिप्पणी पनि गर्न चाहन्न । तर, नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सरकार पीडित परिवारप्रति उदाशिन, निरपेक्षा, जनताप्रति कर्तव्यविमुख हुनसक्दैन ।’

कांग्रेसका प्रमुख सचेतक लेखकले पोखरामा जहाज दुर्घटना भएको र ७२ जनाको ज्यान गएको विषयमा जवाफ दिन रुलिङ गर्न माग गरेका थिए ।

कांग्रेसले जहाज दुर्घटनाबारे रुलिङको माग गरेपछि सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सदनलाई जवाफ दिएका थिए । उनले हवाई सेवालाई सुरक्षित र नियमित बनाउन कार्ययोजना बनाउने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जहाज दुर्घटनाबारे सूचना लुकाउने हर्कत गरिरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जबरजस्त रुपमा आवाज उठाएको छ ।

महानिर्देशक अधिकारी जहाज दुर्घटना भएपछि दुलोभित्र लुकेर बसेका छन् । डराएर बहिर बोलेका छैनन् । महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जबरजस्त रुपमा उद्घाटन गराएका थिए । उद्घाटन गराएको दुई हप्तामै यती एयरलाईन्सको जहाज दुर्घटना भएको छ ।

सरकारले प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गरेर छानविन र अनुसन्धान गर्नुपर्ने बेला कुनै पनि उच्च कदम उठाएको छैन ।

Published : Thursday, 2023 January 19, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया