राजेन्द्र लिङ्देनले पाए उप–प्रधानमन्त्री, दलहरूका बीच मन्त्रालयको कुरा यसरी मिल्यो

काठमाडौं । सत्तारुढ दलहरूका बीच मन्त्रालयको भागबण्डा मिलेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको बसेको बैठकले एमालेलाई ८, माओवादीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३–३ मन्त्री र एक–एक राज्यमन्त्री दिने सहमति भएको छ ।

जनमत पार्टीले पनि एक मन्त्री पाउने भएको छ । सहमतिका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषदलाई पूर्णता दिनेछन् ।

उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनता समाजवादी पार्टी नेपाललाई समझदारीमा ल्याउन र अन्यलाई समेट्न केही संख्या हेरफेर हुनसक्ने बताएका छन् ।

लामिछानेले मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथको कार्यक्रम रहेको बताएका छन् ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । राप्रपाले उप–प्रधानसहित तीन मन्त्रालय पाएको छ ।

राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।

अरु दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लागेको छैन । अध्यक्ष लिङ्देनले पार्टीका नेताहरूसँग परामर्श गरेर मन्त्रीको टुंगो लगाउने छन् ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा तीन मन्त्रालय र प्रतिनिधिसभाको उप–सभामुख परेको छ । रास्वपाले गृहसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय प्राप्त गरेको छ ।

उप–प्रधानमन्त्री तथा गृहमन्त्रीमा पार्टीका सभापति रवि लामिछानले काम थालिसकेका छन् ।

रास्वपाको भागमा एक राज्यमन्त्री प्राप्त भएको छ । रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार रास्वपाले प्रतिनिधिसभाको उप–सभामुख पनि पाउने भएको छ । सभामुख पद भने एमालेको भागमा परेको छ ।

रास्वपाले मंगलबार बिहान मन्त्री बन्नेहरूको नामको टुङ्गो लगाउने भएको छ ।

Published : Monday, 2023 January 16, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया