ओलीले ‘पारा’ देखाए, देउवा–प्रचण्डलाई धम्की दिए

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा ओलीले दिएका अभिव्यक्तिले एमालेभित्र कति पीडा छभन्ने कुरा देखाएको थियो ।

ओलीले कांग्रेस र प्रधानमन्त्री दाहाललाई धम्की समेत दिन भ्याए । ओलीले राम्रो मनले विश्वासको मत दिएको हो कि भित्र अरु केही छ ? भनेर चेतावनी दिएका थिए ।

ओलीले संसद विघटन गरेको आफ्नो कदमको बचाउ पनि गरेका छन् । ओलीले कांग्रेस सभापति देउवानै संसद विघटनको गुरू रहेको बताएका छन् । उनले संसद विघटनको गुरू देउवा नै रहेको बताए ।

राजनीतिक घटनाक्रमलाई आफू अनुकुल व्याख्या गर्न नहुने ओलीको भनाइ छ ।

ओलीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति आशंका गरेका छन् । उनले कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने बताएका हुन् ।

ओलीले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताए । ‘ जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल’, उनले भनेका छन् ।

उनले भने, ‘केही यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’

एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्र जाल नभई सदासयता छ भने स्वागतयोग्य रहेको पनि बताए । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

‘०१५ सालमा बनेको संसदलाई ०१७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन’, ओलीले भने, ‘२०४८ को संसदलाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने कांग्रेस हो म होइन । गुरूजी, आफूले कति पटक संसद विघटन गरियो । मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईंले होइन ।’

देउवाले त्यसबेला संसद विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ छ ।

संसद विघटन गरेर जनताका जाने काम प्रतिगमन नभएको उनले दोहोर्‍याए ।

यसअघि विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा बोल्दै सभापति देउवाले ओलीले संसदमा गरेको सम्बोधनप्रति ध्यानाकर्षण भएको बताएका थिए ।

‘संसद विघटनको सवालमा केपी ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘उहाँको बोलीपछि संविधानको रक्षाका लागि खरो रूपमा उभिने बेला आएको छ ।’

प्रधानमन्त्री दाहाल पनि संविधानको रक्षाका लागि खरो रूपमा उभिने विश्वास रहेको उनले बताएका छन् ।

सभापति देउवाले सम्बोधन गरेर फर्किने बेला ओली र दाहालसँग हात मिलाएका थिए ।

देउवालाई देख्नेवित्तिकै सिटबाट जुरुक्क उठेर ओलीले हात मिलाएका थिए । त्यस बेला ओलीको अनुहार अस्वभाविक देखिएको थियो ।

प्रधानमन्त्री दाहालसँग पनि देउवाले हात मिलाएर बधाइ दिएका थिए । दाहालले देउवाप्रति अभिवादन गरेका थिए ।

Published : Tuesday, 2023 January 10, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया