कांग्रेसको रणनीतिबाट एमाले झस्कियो, देउवाले खिचडी कम्युनिस्ट सरकारभित्र उथलपुथल ल्याइदिए

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

मंगलबार बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् ।

सह–महामन्त्री महेन्द्र यादवले माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएर कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने बताए ।

उनले सरकारलाई समर्थन गरे पनि मन्त्री खान नजाने बताएका छन् । सरकारको कामकारबाही हेरेर रणनीति बनाउने उनले बताएका छन् ।

कार्यसम्पादन समितिको बैठकपछि अब संसदीय दलको बैठक बस्दैछ ।

एमालेसहितका दलहरूको समर्थनमा बनेको दाहाल नेतृत्वको खिचडी कम्युनिस्ट सरकारलाई कांग्रेसले पनि समर्थन गरेपछि एमालेभित्र खैलाबैला भएको छ । कांग्रेसले एमालेभित्र आगो सल्काइदिएको छ ।

कार्यसम्पादन समितिमा सभापति देउवाले प्रधानमन्त्री दाहालसँग सोमबार राति भएको सम्वादका विषयमा जानकारी गराएका थिए ।

कार्यसम्पादन समितिको निर्णयलाई कांग्रेसको संसदीय दलको बैठकले निर्णय गर्नेछ ।

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन कांग्रेसले ह्वीप जारी गर्नेछ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएका छन् ।

कांग्रेससहितका धेरै दलहरूले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि धेरै दलहरू प्रतिपक्षमा बस्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले सोमबार मात्र कांग्रेस सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

भेटमा दाहाललाई देउवाले विश्वासको मत दिने आश्वासन दिएका थिए । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा सभापति देउवाले दाहाललाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए ।

पदाधिकारीबीच कुरा बाझिएपछि कार्यसम्पादन समितिको बैठक डाकिएको थियो ।

प्रतिनिधि सभामा कांग्रेसका ८८ सांसदले मतदान गर्न पाउँछन् । ८९ सांसद रहेको कांग्रेसका एक जना सांसद निलम्बनमा छन् ।

Published : Tuesday, 2023 January 10, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया