बागलुङका एसपी ज्ञवाली उत्कृष्ट ईञ्चार्जमा परे, डीआईजी जोशीले दिए नगद पुरस्कार
काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीलाई नगद पुरस्कार प्रदान गरेको छ ।
पोखरामा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआइजी) रामदत्त जोशीले एसपी ज्ञवालीलाई नगद रू. १५ सयसहित पुरस्कृत गरेका हुन् । जोशीले ज्ञवालीसहित ४ जना एसपीहरूलाई नगद प्रदान गरेका हुन् ।
एसपी ज्ञवालीले बागलुङमा शान्ति सुरक्षा बनाइराख्न प्रहरी संगठनभित्र जिम्मेवारी बहन गरेको कदरस्वरुप प्रदेश प्रहरी प्रमुख डीआईजी जोशीले पुरस्कारका लागि छानौट गरेका हुन् । बागलुङमा एसपी ज्ञवालीले हत्याका दुई वटा ठूला घटनाको अनुसन्धान फत्ते गरेर अपराधमा संलग्नलाई न्यालयमा पेश गरेका छन् ।
स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि शान्तिपूर्ण रुपमा एसपी ज्ञवालीले सफलतापूर्वक सम्पन्न गराएका छन् । विगतमा बागलुङमा निर्वाचनका बेला विभिन्न घटना हुने गरेका थिए । विगतको अपराध निर्वाचनका बेला हुन पाएन ।
प्रहरी प्रमुखहरूले आफूलाई सुम्पिएको जिम्मेवारीलाई अत्यन्तै इमान्दारी, बफादार भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको पाइएको हुँदा अभिलेख किताबमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको पत्रमा उल्लेख छ ।
‘प्रदेश प्रहरी कार्यालयले उनीहरूलाई पुरस्कृत गर्दा मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव पर्न गइ कार्यसम्पादनमा अझै बढी प्रभावकारिता आउने देखिएकोले कार्यसम्पादनको कदरस्वरुप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएको छ’, पत्रमा भनिएको छ ।
पुरस्कृत हुनेमा तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबू रेग्मी, कास्कीका प्रहरी प्रमुख अजय केसी, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी प्रमुख जनार्दन जिसी रहेका छन् ।
म्याग्दीका प्रहरी प्रमुख तिलक भारती, मुस्ताङका प्रहरी प्रमुख रविन्द्रनाथ पौडेल, मनाङका प्रहरी प्रमुख प्रेमसागर केसी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्की, वडा प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख युवराज भण्डारी र ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रशान्त श्रेष्ठलाई पनि अभिलेख किताबमा जनिने गरी जनही एक हजार ५ सय रुपियाँले पुरस्कृत गरिएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया