त्रिभुवन विमानस्थलमा अधिकारीको आर्थिक र प्रशासनिक ‘नाकाबन्दी’ !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अधिकार खोस्ने क्रम जारी राखेका छन् ।

आर्थिक अधिकार कटौती गरिदिएका महानिर्देशक अधिकारीले कार्यसम्पादन मूल्यांकनमा समेत हस्तक्षेप गरिदिएका हुन् ।

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई आर्थिक नाकाबन्दी लगाएका कारण बबाल भइरहेका बेला प्रशासनिक कार्यहरूमा पनि अघोषित ‘नाकाबन्दी’ लगाएको आरोप छ ।

एक लाखभन्दा धेरै खर्च गर्नु परेमा महाप्रबन्धक ठाकुरले महानिर्देशक अधिकारीसँग अनुमति लिनुपर्छ । कहिँ नभएको जात्रा महानिर्देशक अधिकारीले प्राधिकरणभित्र गरेको साना कर्मचारीहरूको गुनासो छ ।

कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनको फारम (अंक दिने कार्य) भर्ने कार्य एक तहमाथिको व्यक्ति (कर्मचारी)ले भर्ने नियम छ ।

तर, प्राधिकरणका महानिर्देशक अधिकारीले त्यो अधिकार खोसेर १०औँ तहका कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनको फारम (अंक) भर्न १२औँ तहको कर्मचारीलाई दिएका छन् ।

महानिर्देशक अधिकारीले आफू निकटका १०औँ तहका कर्मचारी उत्सव खारेलको बढुवा गर्न चलखेल गरेको आरोप कर्मचारीहरूले लगाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक जना उच्च तहका कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सरकारी कार्यालयहरूमा एक तहमाथिको कर्मचारीले एक तहमुनिको कर्मचारीको कार्यसम्पादन मूल्यांकन फारम भर्ने गरिन्छ । तर, महानिर्देशक प्रदीप अधिकारीले आफू निकटका कर्मचारीको बढुवाका लागि १०औँ तहको कर्मचारीको कार्यसम्पादन मूल्यांकन फारम भर्न १२औँ तहको कर्मचारीलाई दिनुभएको छ । १०औँ तहको कर्मचारीको कार्यसम्पादन ११औँ तहको कर्मचारीले गर्दा मात्रै सहि मूल्यांकन हुन्छ ।’

महानिर्देशक अधिकारीले निकै रुचाएका १०औँ तहका कर्मचारी उत्सव खरेल जुनियर मानिन्छन् ।

खरेलभन्दा सिनियर सुमोद चौधरी, सीताराम भण्डारी, विजय ढुंगाना छन् । अधिकारीले खरेललाई च्यापेपछि अन्तर्राष्ट्रिय विमानस्थलभित्र खैलाबैला भएको छ ।

प्रतिक्रिया लिन महाप्रबन्धक ठाकुर र महानिर्देशक अधिकारीसँग प्रयास गर्दा सम्पर्क हुन सकेन ।

शुक्रबार बिहान कार्यालयको फोनमा कार्यालय समयमा महाप्रबन्धक ठाकुर र प्रवक्ता टेकनाथ सिटौलालाई सम्पर्क गर्दा उनीहरू कार्यालय नआइपुगेको प्रतिक्रिया आएको छ ।

विमानस्थलका अन्य कर्मचारीहरूले प्रतिक्रिया दिन मन गरेनन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको हस्तक्षेप भित्र्याएको भनेर चरम आलोचना खेपिरहेका महानिर्देशक अधिकारीका पछिल्ला गतिविधिहरू गतिला छैनन् ।

आर्थिक अनियमिताको आरोपमा महानिर्देशक अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरीहरू परेका छन् । आयोगले ती फाईलहरूको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2023 January 6, 10:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया