शंकर पोखरेलको ‘निच’ योजना असफल, रेखाले फेरि धुलो चटाइन्

काठमाडौं । प्रतिनिधि सभाको सांसद बन्ने एमालेका महासचिव शंकर पोखरेलको योजना तुहिएको छ ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी माओवादी केन्द्रकी सांसद रेखा शर्माले राजीनामा दिन अस्वीकार गरेपछि पोखरेलको सांसद बन्ने योजना तत्कालका लागि तुहिएको छ ।

एमालेका महासचिव पोखरेलले आफ्नो दलका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शर्मालाई राजीनामा गराएर उप–राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए ।

ओली र दाहालले सांसद शर्मालाई राजीनामा दिएर उप–राष्ट्रपति बन्न आग्रह गरेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रकी नेतृ एवम् सांसद शर्माले सांसद पदबाट राजीनामा नदिने अडान लिएकी हुन् । शर्माको अडानपछि पोखरेलको सांसद बन्ने योजना चक्नाचुर बनेको छ ।

नेपाली कांग्रेसको समर्थनमा माओवादी नेतृ शर्माले दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा १९३ मतले जित हासिल गरेकी थिइन् ।

एमालेका महासचिव पोखरेल पराजित भएपछि जसरी पनि प्रतिनिधि सभामा प्रवेश गर्न खोजेका छन् ।

विगतमा एमालेका नेता बामदेव गौतम पनि प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि संसदमा छिर्न विभिन्न तिकडम गरेका थिए । कतैबाट पार नलागेपछि राष्ट्रिय सभाको मनोनीत सांसद बनेका थिए ।

महासचिव पोखरेललाई पनि प्रतिनिधि सभामा छिर्न मन लागेको छ ।

Published : Thursday, 2023 January 5, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया