गठबन्धन कसले तोडेको हो ? कांग्रेसले सत्य बोलेर नाङ्गेझार बनायो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेको सरकार अवसर केन्द्रित रहेको टिप्पणी गरेका छन् ।

बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर डा.महतले भने, ‘अहिले नयाँ गठबन्धनबाट सरकार बनेको छ । यो गठबन्धन शुद्ध अवसरकेन्द्रित हो भन्ने हामीलाई लागेको छ ।’

‘त्यसमा राजतन्त्र चाहिनेदेखि लिएर कुनै हालतमा राजतन्त्र हुँदैन गणतन्त्रकै बाटोमा जानुपर्छ भन्नेसम्म छन्’, उनले भनेका छन् ।

पूर्वमन्त्री समेत रहेका डा.महतले स्वार्थका लागि फरक–फरक विचार र दृष्टिकोण भएका पार्टीहरू मिलेर सरकार बनेको बताएका छन् ।

डा.महतले कसले महत्वपूर्ण अवसर लिने भन्नेमा उनीहरू केन्द्रित रहेको बताएका छन् ।

‘विभिन्न प्रकृति, विभिन्न दिशातर्फ उन्मुख रूपरंगका पार्टीहरू शुद्ध पदीय चाहनाबाट उन्मुख भएर यो गठबन्धन बनेको छ’, उनले भने, ‘विचारमा र दृष्टिकोणमा एकता छैन । ‘नो नट अगेन’ भनेर युवाको साथसहित आएकाहरू कुन पद प्राप्त गर्न सकिन्छ भनेर लागेका छन् ।’

उनले प्रचण्ड सरकारको गठबन्धनको आयु धेरै नभएको बताएका छन् ।

‘यो गठबन्धन सरकारको विरोधाभासपूर्ण अवस्था छ । त्यो बोझबाट नै गठबन्धनको आयु छोटिन सक्ने सम्भावना हामीले देखिराखेका छौं’, उनले भने, ‘कांग्रेस सशक्त प्रतिपक्षी भूमिकामा रहन्छ । जनसरोकारका विषय उठाइरहन्छ ।’

डा.महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि सफल नभएको बताएका छन् । डा.महतले गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष दाहाल गएको आरोप लगाए ।

‘प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरान गरिएका प्रतिबद्धताविपरीत थियो’, डा.महतले भने, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान् । गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन ।’

उनले निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको बताएका छन् । कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको उनले बताएका छन् ।

उनले भने, ‘कांग्रेस विचलित भएको छैन । हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौं ।’

उनले भने, ‘अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं । पार्टी संगठन विस्तारलगायत काम गर्छौं ।’

कांग्रेसका प्रवक्ता डा.महतले अब आउने निर्वाचनमा एक्लै पनि जित्न सक्ने गरी पार्टीलाई रूपान्तरण गरिने बताएका छन् ।

डा.महतले पनि आफूहरूले तत्कालीन गठबन्धनका नेताहरूलाई धेरै विश्वास गर्दा यस्तो परिस्थिति आइपरेको बताएका छन् ।

गठबन्धन टुट्नु र दाहाल प्रधानमन्त्री बनिसकेको विषयमा सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन् ।

‘विश्वासमा गठबन्धन अघि बढ्ने हो’, प्रवक्ता डा.महतले भने, ‘कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन ।’

‘केही छैन, बिचलित हुनुपर्ने अवस्था छैन । वी विल कम ब्याक भनेर उहाँ (देउवा)ले भन्नुहुन्छ’, डा.महतले भने, ‘हामीफेरि सशक्त रूपमा अघि बढ्छौं भनेरै उहाँको हौसलापूर्ण कुरा नै छ ।’

Published : Wednesday, 2023 January 4, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया