उतारचढावबाट आत्तिने होइन, कमजोरीलाई सच्चाएर अगाडि बढौं : बालकृष्ण खाण

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले आजको अवस्थामा पनि वीपी कोइरालाले ल्याएको मेलमिलापको नीति सान्दर्भिक रहेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको कार्यक्रममा बोल्दै खाणले कांग्रेसलाई सोहि अनुसार अगाडि बढाउनुपर्ने बताए ।

नेता खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गर्दै बाह्य हस्तक्षेप र प्रभावकै कारण नेपाली कांग्रेसलाई प्रतिकुलतामा पु¥याएको बताएका छन् ।

नेता खाणले संसदको ठूलो दल भएपनि प्रतिकुलताकै कारण सत्ता बाहिर रहनुपरे पनि अबको ध्यान पार्टीलाई सुदृढ र सक्षम राजनीतिक शक्तिको रूपमा स्थापित गर्नु रहेको बताएका छन् ।

उनले राजनीतिक रूपमा आउने उतारचढावबाट आत्तिने र मात्तिने नभइ कमी कमजोरीहरूलाई सच्चाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सरकारमा रहँदा सबै ध्यान सरकार संचालनमै केन्द्रित हुन्छ, अबको काम भनेको पार्टीलाई कसरी रुपान्तरण गर्न सकिन्छ र बलियो शक्तिको रूपमा स्थापित गर्न सकिन्छ भन्ने नै हो ।’

नेता खाणले अहिले सरकार बाहिर रहनु परेपनि सरकारमा पहुँच बढाउने रणनीतिमा भने पछाडि नहट्ने बताए ।

कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक पद्धति नै कमजोर हुने दावी गर्दै खाणले लोकतन्त्रलाई बलियो बनाउन पनि कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।

वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका सभापति युवराज गिरीले प्रतिष्ठानलाई अनुसन्धान केन्द्रको रूपमा विस्तार र विकास गर्ने योजना रहेको बताए ।

कार्यक्रमको अवसरमा कांग्रेस नेताहरू रामकृष्ण खाण, खेलराज पाण्डेय, फर्सुराम ढकाल, रामप्रसाद खनाल, बिमलराज भट्टराई, बालकुमारी भण्डारी, खिमानन्द भट्टराइ लगायतले बोल्दै बिपी कोइरालाले ल्याएको मेलमिलापको नीति आजको दिनमा पनि सान्दर्भिक रहेकोले कांग्रेसलाई मेलमिलापको नीति अनुसार नै अगाडि बढाउनुपर्ने बताएका थिए ।

यसबीच, राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलले स्वर्गीय वीपी कोइरालाको शालिक अनावरण गरेको छ ।

प्रतिष्ठानले वीपी बाटीकामा निर्माण गरेको अर्धकदको शालिकलाई खाणले अनावरण गरेका हुन् ।

आठ वर्ष लामो निर्वासन अन्त्य गरी २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह लगायत शीर्ष नेताहरू स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेस र उसका भातृ संगठनहरूले मेलमिलाप दिवसको रूपमा मनाउँदै आएका छन् ।

Published : Saturday, 2022 December 31, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया