सत्ताको दुरुपयोग गरेर खेलकुद संघहरू विघठन गर्न पाइँदैन : मीनकृष्ण महर्जन
काठमाडौं । बागमती प्रदेश सभाका सांसद एवम् नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन कुनै पनि सरसल्लाह नगरेर खेलकुद संघ/संस्थाहरू विघटन गरेकोमा आक्रोश प्रकट गरेका छन् ।
शनिबार राजधानीमा नेपाल तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि एवम् प्रदेश सांसद महर्जनले खेलकुद संस्थाहरू विघटन गर्ने कार्यको विरोध गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका महर्जनले परिषदले सत्ताको दुरुपयोग गर्दै साग गेममा पदक हासिल गरेका संघहरूलाई धमाधम विघटन गरेर खेलाडीहरूको भविस्यमाथि खेलवाड गरेको बताए । उनले सत्ताको आडमा केही अराजक तत्वले खेलकुदमा बेथिति ल्याएको आरोप लगाएका छन् ।
राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ विघटन गरेर टेकराज जोशीको अध्यक्षतामा नेपाल तेक्वान्दो महासंघ तदर्थ समिति गठन गरेको छ ।
तदर्थ समितिविरुद्ध पुनराबेदन अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ । त्यसपछि राष्ट्रिय खेलकुद परिषदको नेतृत्व विवादमा तानिएको छ ।
यसैबीच, बागमती प्रदेशका सांसद महर्जनले प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका छन् । उनले विजेताहरू बधाइ पनि दिएका छन् । पुरस्कार वितरणका क्रममा महर्जनले आफू पनि करातेको खेलाडी रहेको र मुलुकका लागि अन्तर्राष्ट्रिय गोल्डमेडल जितेको अनुभव पनि सुनाएका छन् ।
माइती नेपालकी सविना श्रेष्ठले केयर्स पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । नेपाल तेक्वान्दो संघको आयोजनामा शनिबार भएको महिला १८ वर्षमाथिको स्पर्धामा सविनाले स्वर्ण पदक जितेकी हुन् ।
माइती नेपालकै प्रश्ना खड्काले रजत तथा सस्मिता केसी र सिर्जना जैशीले कांस्य पदक जिते ।
यू–१० छात्रातर्फ पीए नेपालकी ज्ञानु रोकाय र इशानी ब्लोनले पहिलो स्थान हात पारेकी छिन् ।
माइती नेपालकी अञ्जिता तामाङ र क्रिस्टिना तामाङले रजत, माइती नेपालका डोल्मा तामाङ, दुर्गा तिमिल्सना, ईसीडीसीका सिमना तामाङ र शोभा डोल्मा तामाङले कांस्य पदक जितेका छन् ।
यू–१० छात्रमा पीए नेपालका डोनाल रोकाय, चिराग सिंह र रौनाङ्ज्यू देवानले क्रमशः स्वर्ण, रजत र कांस्य जिते । छात्राको १०–१२ वर्षको उमेर समूहमा पीए नेपालका सनिशा तामाङ पहिलो, माइती नेपालकी दीपिशा गन्दर्भ दोस्रो तथा पीए नेपालकी दुर्गा तामाङ र ईसीडीसीकी भगवती जैशी तेस्रो भए ।

उमेर समूहको छात्रतर्फ पीए नेपालका अधि परियारले स्वर्ण, पीए नेपालकै प्रतीक कार्कीले रजत, पीए नेपालकै राजेश रोकाय र रोहन मण्डलले कांस्य पदक हात पारे ।
छात्राको १२–१४ वर्षको उमेर समूहमा माइती नेपालकीयुना भुजेल पहिलो, माइती नेपालकै बिनिशा महर्जन दोस्रो तथा माइती नेपालकी भीममाया तामाङ र ईसीडीसीकी लक्ष्मी रोकाय तेस्रो भए ।
यही समूहको छात्रमा पीए नेपालका इशान ब्लोन, रोशन मण्डल र सागर तामाङले पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेका छन् ।
छात्राको १४–१७ वर्ष उमेर समूहमा माइती नेपालकी सलिना श्रेष्ठ पहिलो, माइती नेपालकै शिक्षा ढकाल दोस्रो एवं माइती नेपालकै पूजा गुरुङ र अनिसा तामाङ तेस्रो भए । छात्रतर्फ पीए नेपालका सोनम तामाङ, अमृत लामा र सुविन्द्र राना मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे ।
कार्यक्रममा प्रमुख अतिथि महर्जनका साथै नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र महासचिव दीपराज गुरुङलगायतले पनि पुरस्कार प्रदान गरेका थिए ।
विश्व तेक्वान्दो महासंघको नीति तथा कार्यक्रम अनुसार नेपाल तेक्वान्दो संघले केयर्स च्याम्पियनसिप आयोजना गर्दै आएको छ ।
च्याम्पियनसिपको यो चौथो कार्यक्रम हो । यस वर्ष यो कार्यक्रममा दुई सय खेलाडी समावेश गरिएको नेपाल तेक्वान्दो महासंघका महासचिव दीपराज गुरुङले जानकारी दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया