कांग्रेसको हातबाट कसरी फुत्कियो सरकार ? यस्तो छ डा.शशांक कोइरालाले प्रतिक्रिया

भरतपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री डा. शशांक कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनु परेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले रणनीतिमा केही त्रुटि भएका कारण सरकार गुमेको बताए ।

उनले भने, ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो ।’ उनले पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने बताएका छन् ।

गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका प्रचण्डले खेलेको डा.कोइरालाले बताएका छन् ।

‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोँचका कारण समस्या आयो’, कांग्रेसका नेता डा.कोइरालाले भनेका छन् ।

कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उनको भनाइ छ । जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसका नेता डा.कोइरालाले बताएका छन् ।

सञ्चारमाध्यममा धेरै बोल्न नरुचाउने डा.कोइरालाले गठबन्धन टुटेको तथा कांग्रेसको हातबाट सरकार गुमेको विषयमा पहिलो पटक प्रतिक्रिया दिएका हुन् ।

डा.कोइरालाले सरकार गुम्नुमा कसैलाई पनि दोष दिएका छैनन् । उनले छुद्र रुपमा टिकाटिप्पणी पनि गरेका छैनन् । राजनीतिक रुपमा उनले प्रतिक्रिया दिएका छन् ।

महामन्त्री गगन थापाले सरकार गुमेको विषयमा निकै तल्लो तहमा उत्रिएर प्रतिक्रियाहरू दिइरहेका छन् ।

Published : Friday, 2022 December 30, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया