गठबन्धन टुट्नुमा कांग्रेस दोषी कि, माओवादी ? यसो भन्छन् प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले गठबन्धनले निरन्तरता पाउनुपर्छ भन्ने धारणा राख्दै आएको बताएका छन् ।

आइतबार साँझ रिपब्लिका दैनिकसँग प्रतिक्रिया दिँदै डा.महतले गठबन्धन टुट्नु विडम्बना भएको बताएका छन् । गठबन्धन टुट्ने कुराको बिकल्पमा गठबन्धनले सोँच्नु हुँदैन थियो भन्ने कुरा आफ्नो रहेको उनले बताएका छन् ।

उनले भने, ‘निर्वाचनको समयमा पनि यो गठबन्धनलाई तोड्ने प्रयास भएको थियो । एमालेबाट पनि नभएको होइन ।’

‘यसका बाबजुद गठबन्धन खास उद्देश्यका साथ निर्माण भएको थियो । संविधानको रक्षा लगायतको विषय उठाएर निर्माण भएको गठबन्धन निर्वाचन र निर्वाचनपछि पनि निरन्तरता पाउनुपर्छ भनेर पार्टीले भन्दै आएको हो’, प्रवक्ता डा.महतले भनेका छन्, ‘मेरो पनि दृष्टीकोण त्यही थियो पार्टीको प्रवक्ताको नाताले पनि, त्यही कुराभन्दै आएको हो । र, यो परिणाम आएपछि पनि यो गठबन्धनकै सरकार बन्नुपर्छ भन्ने कुरा राख्दै आएको हो ।’

‘स्वभाविक रुपमा कांग्रेस ठूलो पार्टी भएको हुनाले र पार्टीको प्रवक्ता र जिम्मेवार नेताको हैसियतले सकेसम्म नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने स्वभाविक हुन्छ’, प्रवक्ता डा.महतले भनेका छन् ।

‘गठबन्धन टुटाउने, हाम्रोतर्फबाट कुनै पनि काम गर्नु हुँदैन, हामी गर्दैनौँ भन्नेमा प्रतिवद्ध थियो’, उनले भने, ‘त्यसमा बैकल्पिक हिसाबले सरकारमा जाने सोँच पनि नेपाली कांग्रेसले कहिल्यै पनि बनाएन । त्यसको तयारी पनि गरेन ।’

‘यो अवस्थामा । यो अन्तिम समयमा आएर फेरि प्रचण्डजी यो गठबन्धन छोडेर ओलीजीसँग मिलेर नेतृत्वमा जाने अवस्था आयो’, उनले भने, ‘यो दुर्भाग्यपूर्ण कुरा हो । यो परिस्थिति आउनु हुँदैन थियो । संविधानका कुरा र संविधानलाई रक्षा गर्ने कुराहरू उठेका थिए, त्यसलाई पनि अलिकति कमजोर पारेको छ ।’

उनले भने, ‘संविधानका विभिन्न विरोधी, संविधानका व्यवस्थालाई मास्नुपर्छ भन्ने कुरालाई लिएर दलहरूलाई व्यापक आलोचना गर्ने, संवैधानिक व्यवस्थाहरूका बारेमा प्रश्न उठाउने सबै खाले शक्तिलाई एक ठाउँमा आउने परिस्थिति बन्यो दुर्भाग्यपूर्ण कुरा हो ।’

कांग्रेसलाई छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बन्न गएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला कांग्रेस प्रवक्ता डा.महतको यस्तो भनाइ आएको छ ।

Published : Sunday, 2022 December 25, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया