शीतल निवासले देउवाको प्रधानमन्त्री खोसिदियो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । दाहाल तेस्रो दलका नेता हुन् ।

पहिलो दल नेपाली कांग्रेस रहँदा रहँदै दोस्रो दल एमालेसहितका दलहरूको समर्थनमा दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । दाहाल प्रधानमन्त्रीमा नियुक्त भएसँग शेरबहादुर देउवाको प्रधानमन्त्री पद फुत्किएको छ ।

राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसको सरकारले सिफारिस गरेका विधेयक र अध्यादेशलाई रोकेर हैरान बनाएकी थिइन् ।

एमालेको समर्थनमा बनेको नयाँ सरकारका प्रधानमन्त्रीलाई दाबी पेश गरेको एक घण्टाभित्रै प्रधानमन्त्रीमा नियुक्त गरेर देउवाको प्रधानमन्त्री पद उडाइदिएकी छिन् ।

दाहाललाई एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन छ । तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिएका छन् ।

दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए । कक्षा १० मा पढ्ने बेलादेखि राजनीतिक चासो राखेका दाहाल बिक्रम संवत २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए ।

बिक्रम संवत २०४२ सालमा नेकपा (मशाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । बिक्रम संवत २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव बनेका थिए ।

२०५२ साल फागुन १ गतेबाट शुरु भएको तत्कालीन माओवादीको जनयुद्धको नेतृत्व गरेका दाहाल बिक्रम संवत २०५८ मा माओवादीको अध्यक्ष भएका थिए । बिक्रम संवत २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर पनि बनेका थिए ।

लगातार पार्टी नेतृत्वमा रहेका दाहाल २०७५ सालमा एमालेसँगको पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष पनि बनेका थिए ।

पहिलो संविधानसभा २०६४ मा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका दाहाल दोस्रो संविधानसभा २०७० मा सिरहा ५ बाट जितेका थिए ।

२०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चितवन ३ बाट निर्वाचित भएका दाहाल यसपटक गोरखा–२ पुगेर त्यहाँबाट जितेर आएका हुन् ।

पहिलो संविधान सभाको चुनावमा माओवादी ठूलो भएपछि २०६५ सालमा नौ महिनाप्रधानमन्त्री भएका थिए ।

२०७३ सालमा उनी पुन प्रधानमन्त्री बनेका थिए । पहिलो र अहिले तेस्रो पटक प्रधानमन्त्री बन्दा दाहालको मूल सत्ता साझेदार एमाले बनेको छ ।

Published : Sunday, 2022 December 25, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया