त्रिपुरेश्वरमा सडक दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित सडकमा बागमती प्रदेश ०१–०२७ च ८९८२ नम्बरको भ्यानले बा.३२ प २४२९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१० घर भएका ४६ वर्षीय सुरजध्वज सुनुवारको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, दाङको घोराही उप–महानगरपालिका–१६ सर्रास्थित सडकमा रा.१ ख २३७५ नम्बरको बसले रा.२ प ५२५५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका–६ डेरा गरी बस्ने सल्यान शारदा नगरपालिका–१ घर भएकी १८ वर्षीया सिर्जना शर्माको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, धनुषाको जनकपुर उप–महानरपालिका–१४ स्थित सडकमा ज.११ प ६८०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी मनरा शिश्वा नगरपालिका–४ बस्ने ३० वर्षीय सुमनकुमार शर्माको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रमममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Saturday, 2022 December 24, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया