आइजीपी रनिङ ट्रफी फुटबलका विजतोलाई सिंहद्वारा पुरस्कार प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई पुरस्कार प्रदान गरेका छन् ।

शुक्रबार काभ्रेपलाञ्चोकमा रहेको नेपाल पुलिस स्कुल साँगामा संचालित २८औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०७९ का विजेतालाई सिंहले पुरस्कार प्रदान गरेका हुन् ।

सिंहले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

सिंहले विजयी खेलाडीहरूलाई बधाइ दिँदै विद्यालयको स्तरोन्नति तथा विकासका लागि विद्यालयहरूले शैक्षिक तथा अन्य गतिविधिहरूलाई समयानुकुल, परिष्कृत र परिमार्जित गर्दै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताए ।

शारीरिक तथा मानसिक बिकासको लागि खेलकुद जीवनमा अपरिहार्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले खेलकुदले एक–अर्कामा समन्वय राखी समूहमा कार्य गर्ने सीप समेत विकास गर्ने बताए ।

पछिल्लो समय खेलकुद प्रतिको आकर्षण बढ्दै गएको र विभिन्न खेलका खेलाडीहरूले उल्लेखनीय कीर्तिमान बनाउन सफल भएको उनले उल्लेख गरेका छन् ।

सिंहले प्रतियोगितामा सहभागि खेलाडीहरूले पनि भविष्यमा आफ्नो क्षमता अभिवृद्धि गरी देशको छवि उच्च राख्न सफल हुने बताए ।

सिंहले नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने नेपाल प्रहरी तथा आम नागरिकका सन्ततिहरूको उज्वल भविष्य निर्माणको लागि विद्यालयमा कार्यरत शिक्षक, प्रहरी तथा अन्य कर्मचारीहरूलाई संवेदनशील र दत्तचित भएर काम गर्नुपर्ने बताएका छन् ।

फाइनल खेलमा नेपाल पुलिस स्कुल धरानले लिटिल एन्जल्स स्कुल ललितपुरलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल पुलिस स्कुल धरान टीम प्रथम, लिटिल एन्जल्स स्कुल टीम द्वितिय र ल्याबरोटरी स्कुल टीम तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले ३० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

मंसिर २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान, सैनिक आवासीय मावि लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टीमको सहभागिता रहेको थियो ।

Published : Saturday, 2022 December 24, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया