हवाई सेवा र पर्यटन प्रवर्द्धन गर्न मलेशियामा कार्यक्रम
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम, नेपाल टुरिजम बोर्ड र नाटाको संयुक्त आयोजनामा पर्यटन प्रबर्द्धनको कार्यक्रम भएको छ ।
मलेशियाको क्वालालम्पुर र पेनाङ्गमा हवाई सेवा तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।
कार्यक्रमको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेसराज अधिकारीले गरेका थिए ।
सचिव अधिकारीले नेपालमा मेलेशियन पर्यटक भित्र्याउन मलेशियाका पर्यटन व्यवसायीहरूलाई आव्हान गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहजीकरणका कार्यहरू गरिने बताएका छन् ।
नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.धनन्जय रेग्मीले मलेशिया तथा नेपालका पर्यटन व्यवसायी र नेपाल वायुसेवा निगमसँग सहकार्य गरी सेलएबल प्याकेजको डिजाइन गरी प्रवर्द्धधन गरिने बताएका छन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल सरकारले पर्यटक भित्र्याउने योजनामा महत्वपूर्ण खम्बाको रुपमा काम गर्ने र यसबाट समग्र नेपालको आर्थिक विकासमा योगदान पुग्ने बताए । उनले विदेशी मुद्रा आर्जन गर्न सकिने बताएका छन् ।
२० डिसेम्बर २०२२ मा क्वालाम्पुरमा एजेन्ट सेल्स मिट एण्ड ईन्ट्रयाक्सन कार्यक्रम सम्पन्न भएको निगमले जनाएको छ ।
निगमका कार्यकारी अध्यक्ष अधिकारीले निगमको भावी योजना बताउँदै मलेशिया सेक्टरमा उडान संख्या बृद्धि गर्ने योजनाका साथै एजेन्टबाट आएका पृष्ठपोषणहरूको सम्वोधन गरिने बताए ।
निगमका सेल्स एजेन्टहरूलाई सौभनियर प्रदान गर्नुका साथै लक्की ड्र मार्फत क्वालालाम्पुर काठमाडौं, काठमाडौं क्वालालाम्पुरको टिकट प्रदान गरिएको थियो ।
नेपाल वायुसेवा निगम र मलेशियास्थित नेपाली दूतावासबीच नेपाल वायुसेवा निगमलाई प्रवर्द्धन गर्न दूतावासको वेवसाइटमा निगम सम्वन्धी जानकारी राखिनेछ ।
विभिन्न शहरहरूमा संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम गर्ने सम्झौता भएको थियो । मलेशियाको पर्यटन मन्त्री, नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा नेपाल वायुसेवा निगमका अध्यक्षबीच पर्यटन प्रवर्द्धनका सम्वन्धमा छलफल तथा भेटघाट कार्यक्रम भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।
प्रवक्ता खड्काले निगमले व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यले समय समयमा यस किसिमको कार्यक्रममा सहभागिता जनाउनुका साथै अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताएकी छिन् ।
प्रत्यक्ष रुपमा निगमले आफ्ना सेल्स एजेन्ट, ग्राहक तथा निगमको सेवा प्रवाहमा सहयोगी भूमिका प्रदान गर्ने दूतावास, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा भएको एवं हुने यस प्रकारको उपस्थितिले निगमको बिक्री प्रवर्द्धन तथा साख अभिबृद्धिमा उल्लेख्य भूमिका रहने दावी निगमले गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया