देउवाले जितेकै दिन कांग्रेसका ढुंगानाले पनि ठूलो संस्थाको अध्यक्षमा जिते

काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् ।

ढुंगाना नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् । ढुंगाना संघको आठौं महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

महासचिवमा एमालेका तर्फबाट दाङको घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् ।

उप–महासचिवमा काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोल चयन भएकी छिन् ।

कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई चयन भएकी छिन् ।

सह–कोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन भएकी छन् ।

स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको छ ।

देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता पदमा निर्वाचित भएकै दिन नगरपालिका संघमा कांग्रेस निकटका ढुंगाना अध्यक्षमा चयन भएका छन् ।

नगरपालिका संघ जननिर्वाचित प्रतिनिधिहरूको ठूलो संस्था मानिन्छ ।

Published : Wednesday, 2022 December 21, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया