गगनले शेखरलाई ठाउँमा ल्याए, यसरी मिल्यो कुरा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने गुटभित्र सहमति बनेको छ ।

काठमाडौंको बबरमहलस्थित बसेरा होटेलमा मंगलबार बिहान बसेको गुटको बैठकमा थापालाई दलको नेतामा अगाडि बढाउने सहमति भएको हो । सहमतिअनुसार अब गगनले दलको नेताका लागि उम्मेदवारी दिनेछन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग गगनले संसदीय दलको नेतामा भिड्नेछन् । दलको नेतामा देउवाको जित सुनिश्चित छ । अब गगनले कति मत पाउँछन् भन्ने हो ?

‘नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नु भएको छ’, शेखर कोइरालाका सहयोगी दिनेश थपलियाले फेसबुकमा लेखेका छन् ।

‘आफू निकट सांसद र केन्द्रीय सदस्यहरूको भेला राखेर कोइरालाले थापालाई प्रस्ताव गर्नुभएको हो’, थपलियाले भनेका छन् ।

गगन टसकोमस नभएपछि शेखरले आफूलाई पछाडि धकेलेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री बन्ने अवसर भयो भने गगनले शेखरलाई अगाडि सार्ने सहमति तथा गगनले शेखरलाई नेता मान्ने सहमति बनेको स्रोतको भनाइ छ ।

गगन–शेखर गुटको भेलामा सरिता प्रसाइँ, धनराज गुरुङ, सञ्जयकुमार गौतम, दीपक गिरी, बद्री पाण्डे, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुनिल शर्मा, मुक्ताकुमारी यादवल, रामनाथ अधिकारी, चन्द्र भण्डारीगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 December 20, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया