काठमाडौंबाट खटिएको प्रहरीद्वारा भक्तपुरमा दुई जना पक्राउ
काठमाडौं । विश्वकप फुटबलमा सट्टाबाजी लगायतका बेटिङ खेलाएको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुरको भक्तपुर नगरपालिका–१६ घर भई चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भई सूर्यबिनायक नगरपालिका–८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन् ।
फिफा बिश्वकप २०२२ लगायत विभिन्न खेल तथा गतिविधिहरूमा सट्टाबाजी गर्ने प्रयोग हुने बेटिङ एपमार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचना पाएपछि प्रहरी परिचालित भएको थियो ।
गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले ‘वन एक्स बेट’का एजेन्टको रुपमा सक्रिय रहेका उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूले बिभिन्न प्रलोभन देखाई एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको, एजेन्टको रुपमा १ वर्षदेखि कार्य गर्न थालेको, ‘रिडी’ नामक एप्लिकेसन बनाई कारोबार गर्ने गरेको र बढी रकम संकलन तथा भुक्तानी गर्ने एजेन्टहरू प्रोत्साहित हुने गरेको तथ्य खुलेको छ ।
सुनिलको २३ वटा बैंकमा रहेका २५ वटा खाताहरूमध्ये ७ वटा बैंक खाताहरूबाट करिब १ वर्षको अवधिमा २ करोड ४५ लाख ७१ हजार ८ सय ९९ रूपियाँ कारोबार भएको खुलेको छ ।
अजयको विभिन्न १९ वटा बैंक खाताहरूमध्ये ५ वटा बैंक खाताहरूबाट करीव ६ महिनाको अवधिमा ६० लाख २९ हजार ९ सय १५ रुपियाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसूरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया