संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुने देउवाको निर्देशन, नवनिर्वाचित सांसदहरूलाई दिए बधाइ

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा संसदमा प्रभावकारी भूमिका निभाउन नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।

शनिबार बालुवाटारमा देउवाले कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाइ तथा शुभकामना दिँदै कांग्रेसका सांसदहरूका लागि आगामी दिन चुनैतीपूर्ण रहेको बताएका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नवनिर्वाचित सासद टेकबहादुर गुरुङका अनुसार सभापति देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाइ तथा शुभकामना दिएको जानकारी दिए ।

‘सभापति समेत रहनुभएको प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा कांग्रेसका सांसदहरूको विशेष भूमिका रहने भन्दै प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ’, देउवाको भनाइ उदृत गर्दै गुरुङले भने, ‘सभापतिज्यूले धेरै लामो बोल्नुभएन । छोटो बोल्नुभयो । संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुने निर्देशन दिनुभएको छ ।’

सभापति देउवाले नवनिर्वाचित सांसदहरूलाई खादा लगाइदिएर बधाइ तथा शुभकामना दिएका थिए ।

देउवाले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूहरू इमान्दारिताका साथ लागेको बताएका छन् ।

देउवाले भने, ‘गठबन्धनलाई जनताले अनुमोदन गरेका छन् । चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराहरूको निर्णय हुनेछ ।’

‘त्यो निर्णयको जानकारी म तपाईंहरूलाई गराउनेछु । तपाई अनुमान गर्न सक्नु हुन्छ’, देउवाले भने, ‘गठबन्धनको बैठक भइसकेपछि त्यसको निर्णय मात्रै मैले तपाईहरूलाई जानकारी गराउन सक्दछु ।’

कांग्रेसका प्रवक्ता एवम् नवनिर्वाचित सांसद डा. प्रकाशशरण महतले संसदको ठूलो शक्ति कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वाभाविक रहेको बताएका छन् ।

प्रवक्ता डा.प्रकाशशरण महत, नेता एवम् सांसद विनोद चौधरीसहितका नेताहरू पहिलो लहरमा बसेका थिए ।

Published : Saturday, 2022 December 17, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया