महाअभियोग काण्डले बबाल भएका बेला महासचिवले होइन सचिवले राजीनामा दिए

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई सफाइदिने पत्र प्रकरणपछि विवादमा आएको संसद सचिवालयका एक जना सचिवले राजीनामा दिएका छन् ।

संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

घिमिरेको सेवा अवधि सकिन ९ महिना बाँकी थियो । घिमिरले सचिव पदबाट राजीनामा दिएपछि खैलाबैला भएको छ । घिमिरेले उमेर हदले अवकाश पाउन ९ महिना बाँकी छ ।

घिमिरेले मंगलबार संसद सचिवायलयका महासचिव भरतराज गौतम समक्ष राजीनामा पत्र दिएका थिए ।

घिमिरेको राजीनामा पत्र बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ ।

घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।

संसद सचिवालयका महासचिव भरतराज गौैतमले केही दिन अगाडि चालेन्द्रशम्शेर जबरालाई महाअभियोगबाट सफाइदिने पत्र दिएपछि बबण्डर भएको थियो ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको दवावमा गौतमले जबरालाई सफाइ दिएको चर्चा छ ।

झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका तत्कालीन प्रधानमन्त्री ओलीले गौतमलाई महासचिव बनाएका थिए ।

त्यस बेला संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई महासचिव बनाउन खोजिएको थियो ।

गौतमले ओलीको चाकडी गरेपछि एमालेका नेताहरूको जोडबलमा महासचिव बनाइएको थियो । महाअभियोग प्रकरणमा गौतमले अहिले आएर ओली र एमालेलाई ठूलो गुन लगाएका छन् ।

Published : Wednesday, 2022 December 14, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया