विनोद चौधरीमाथि तरुण दलको भरोस, अर्थतन्त्र सुधारको जिम्म दिनुपर्ने अध्यक्ष गुरुङको तर्क
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा नवनिर्वाचित सांसद विनोद चौधरीलाई बधाइ तथा शुभकामना दिएका छन् ।
सोमबार राजधानीमा अध्यक्ष गुरुङले कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीलाई भेटेर बधाइ दिएका हुन् । गुरुङले मुलुकको अर्थतन्त्र सुधारमा नेता चौधरीको भूमिका उल्लेख्य रहनेभन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य चौधरीले नवलपरासी क्षेत्र नं. १ बाट अत्याधिक मतसहित पूर्वमन्त्री हृदयश त्रिपाठीलाई हराएका छन् ।
प्रतिनिधि सभाका नवनिर्वाचित सांसद चौधरी विश्वकै धनीहरूको सूचीमा छन् । उनी उद्योग व्यवसायमा निकै सफल व्यक्तिमा पर्छन् ।
चौधरीसँग मुलुकले ठूलो अपेक्षा राखेको छ । कतिपयले चौधरीलाई अर्थ, उद्योग वा परराष्ट्र मन्त्री बनाएर कांग्रेसले मुलुकको आर्थिक उन्नतिमा आमूल परिर्वतन ल्याउनुपर्ने सुझाव दिन थालेका छन् ।
तरुण दलका अध्यक्ष गुरुङले पनि नवनिर्वाचित सांसद चौधरीको क्षमतालाई कांग्रेसले उपयोग गर्नुपर्ने बताएका छन् ।
मुलुकको धरमराएको अर्थ व्यवस्थालाई सहि बाटोमा ल्याउन चौधरीको भूमिका रहन सक्ने तरुण अध्यक्ष गुरुङको भनाइ छ ।
अध्यक्ष गुरुङले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसद चौधरीलाई अब बन्ने नयाँ मन्त्रिपरिषदमा उपयुुक्त स्थान दिनुपर्ने बताएका छन् ।
तरुण अध्यक्ष गुरुङसँगका भेटमा नवनिर्वाचित सांसद एवम् कांग्रेस केन्द्रीय सदस्य चौधरीले अवसर पाए मुलुकमा कसरी विकास गर्ने भन्ने खाका आफूसँग रहेको बताएका छन् । चौधरीले देशको मुहार फेर्न अर्थ व्यवस्था र उचित नीतिले मात्रै सकिने बताएका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया