आईजीपी सिंहद्वारा खेलाडीहरूलाई नगदसहितको पुरस्कार प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले नवौं राष्ट्रिय खेलकुद २०७९ मा पदक विजेता खेलाडी तथा अफिसियलहरूलाई सम्मान गरेका छन् ।
आइतबार नक्सालमा आयोजित विशेष कार्यक्रममा सिंहले खेलाडी तथा अफिसियलहरूलाई नगद पुरस्कार वितरण गरेका हुन् ।
आईजीपी सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट नतिजा हाँसिल गरेकै कारण नेपाल प्रहरी संगठनको गरिमा उँचो हुँदै आएको बताएका छन् ।
प्रहरीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा खेलाडीहरूले गरेको कडा परिश्रम, मेहनत, लगनशीलता र खेलकुदप्रतिको समर्पण भावको उनले उच्च प्रशंसा गरेका छन् ।
उनले खेलाडीहरूले सफलता पछाडिको संघर्ष, त्याग, तपस्या र साधना कायम राख्दै अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् ।
आफूभित्रको सम्भावनालाई निखार्दै अझ सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गरी व्यक्तिगत उपलब्धीका साथै संगठनको वृहत्तर हित र संस्थागत बिकासमा योगदान दिन खेलाडीहरूलाई उनले निर्देशन दिएका छन् ।
आईजीपी सिंहले संगठन र राज्यले सुम्पिएको जस्तोसुकै जिम्मेवारी दृढता र कर्तव्यपरायणताका साथ निर्वाह गर्न तत्पर हुनु सवै प्रहरी कर्मचारीको प्राथमिक दायित्व रहेको बताएका छन् ।
हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पदक विजेता खेलाडीहरू समेतको उच्च योगदान रहेको उनले बताएका छन् ।
प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि र मनोबल उच्च गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको उनले बताएका छन् ।
सिंहले उत्कृष्ट खेलाडीलाई संगठनमा आवद्ध गराई महत्वपूर्ण मञ्च उपलब्ध गराउने नेपाल प्रहरीको नीति रहेको तथा उत्कृष्ट खेलाडीको आवद्धताले आगामी दिनमा नेपाल प्रहरीको प्रदर्शन अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन् ।
२०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा संचालित उक्त प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागी खेलाडीहरूले ६१ स्वर्ण, ६१ रजत र ७२ कास्य गरी कुल १ सय ९४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
विजेता खेलाडीहरूलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट सिंगल ईभेन्ट स्वर्ण पदक विजेतालाई १० हजार रुपियाँ, रजत पदक विजेतालाई ७ हजार रुपियाँ र कास्य पदक विजेतालाई ५ हजार रुपियाँ एवम् सामूहिक ईभेन्टतर्फ स्वर्ण पदक विजेतालाई ७ हजार रुपियाँ, रजत पदक विजेतालाई ५ हजार रुपियाँ र कास्य पदक विजेतालाई ३ हजार रूपियाँ प्रदान गरिएको छ ।
विभिन्न खेलहरूमा राष्ट्रिय कीर्तिमान राख्न सफल ८ जना खेलाडीहरूलाई जनही थप नगद ५ हजार रुपियाँ प्रदान गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट २९ खेलमा ४ सय ९५ जना खेलाडीहरू सहभागी भएका थिए ।
जसमध्ये १९८ जना महिला र २९७ जना पुरुष खेलाडी थिए भने ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रहरी सहायक निरीक्षक तारादेवी पुन, प्रहरी सहायक हवल्दारद्वय बिकास थापा र मुई लामा तथा प्रहरी जवानहरू जुनुमाया छन्त्याल, बिद्या राई, बिशाल सिंह बिष्ट, सन्देश गुरूङ र चन्द्रकला लाम्गादेले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए ।





बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया