काठमाडौंमा ठूलो परिमाणको रकमसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंमा प्रहरीले चौतीस लाख सन्तानब्बे हजार रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंसिर २२ गते गोकर्णेश्वर– ९ भगवतीथानमा चेकजाँचका क्रममा प्रहरीले टोखा नगरपालिका–१० बस्ने ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र कास्कीको पोखरा– ४ घर भई हाल काठमाडौं– १७ बस्दै आएका ६१ वर्षीय विश्वकुमार गुरुङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।
प्रहरीले उनीहरूलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को कसूरमा कारबाही अगाडि बढाएको छ ।
भगवतीथानस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा जोरपाटीबाट गोकर्णतर्फ जाँदै गरेका जितेन्द्रले चलाएको बा.९८ प २२०९ नम्बरको स्कुटरमा चेकजाँच गर्ने क्रममा डिक्की तथा जितेन्द्रले बोकेको झोलाबाट रकम बरामद भएको थियो ।
प्रहरीले रकम तथा स्कुटर समेत बरामद गरी जितेन्द्रलाई तत्काल नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानका क्रममा उक्त नगद विश्वकुमार गुरुङको रहेको खुल्न आएपछि विश्वकुमारलाई समेत पक्राउ गरिएको थियो ।
विश्वकुमार गुरुङलाई बौद्धबाट पक्राउ गरिएको छ ।
जितेन्द्रकुमार चौधरीको नामको समृद्दि रेमिटको परिचय–पत्र पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जितेन्द्र र विश्वकुमारलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेर प्रहरीले अनुसन्धानका लागि सात दिनेको म्याद लिएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया