चोलेन्द्रलाई बालकोटको आशीर्वादले काम गरेन, रामशाहपथले उल्टाइदियो
काठमाडौं । सर्वोच्च अदालत छिर्ने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रयास असफल भएको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको आशीर्वाद र संसद सचिवालयका महासचिव भरत गौतमको असफल प्रयासलाई सर्वोच्च अदालतले तुहाइदिएको छ । जबरा सर्वोच्चमा प्रवेश गर्न नपाइकन अवकासमा जानेछन् ।
शुक्रबार सर्वोच्च अदालतले संसद सचिवालयका महासचिव गौतमले जबराको महाअभियोग निष्क्रिय बनाउने पत्र कार्यान्वयन नगर्न आदेश दिएको छ ।
राणाविरूद्ध लागेको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिवले दिएको पत्रमा कानूनी आधारको अभाव रहेको आदेशमा उल्लेख छ ।
सर्वोच्च बारका अध्यक्ष एवम् अधिवक्ता पूर्णमान शाक्यसहितले महासचिवको पत्र खारेज गर्न माग गर्दै रिट दिएका थिए ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संवैधानिक इजलासले अन्तरिम आदेश दिएपछि जबरालाई ठूलो झट्का लागेको छ ।
आदेशमा भनिएको छ, ‘महासचिवले मंसिर २१ गते लेखको विवादित पत्रमा सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्रशमसेर जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको भनी उल्लेख भएको पाइयो । पत्रमा निष्प्रभावी हुनुको कानूनी आधार भने खुल्न आएको देखिँदैन ।’
प्रतिनिधि सभाको अधिकार महासचिवले प्रयोग गरेको भन्ने गम्भीर प्रश्न उठेकाले पत्र कार्यान्वयन गर्न मनासिव नहुने इजलासको धारणा छ ।
आदेशमा भनिएको छ, ‘महासचिवले आफूमा नरहेको अधिकारको प्रयोग गरी पत्राचार गरेको भनेर पनि रिटमा प्रश्न उठाएको देखिन्छ ।’
‘संविधानद्वारा प्रतिनिधि सभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेकोसम्बन्धी गम्भीर र महत्वपूर्ण प्रश्न खडा भएको सन्दर्भमा महासचिवले लेखेको पत्रको तत्काल कार्यान्वयन हुनु सुविधा र सन्तुलनका दृष्टिले हेर्दा मनासिव देखिएन’, सर्वोच्च अदालतको आदेशमा उल्लेख छ ।
मंसिर २१ गते महासचिव गौतमले महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि जबराले सर्वोच्च अदालत जाने तयारी गरेका थिए ।
राणा सर्वोच्च आउन खोजेपछि सर्वोच्चबारका पदाधिकारीले महासचिव गौतमको पत्र खारेज गर्न माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेका थिए ।
जबराविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाई हुने भएपछि रामशाहपथमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
सोही कारण सिंहदरबार आसपाको क्षेत्रमा ट्राफिक जाम समेत भएको थियो ।
एमालेका अध्यक्ष ओलीको दवावमा महासचिव गौतमले जबरालाई सफाइ दिने पत्र दिएको चर्चा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया