कांग्रेसबाट संसदीय दलको नेता र प्रधानमन्त्री को बन्दैछ ? रामहरिले जिब्रो नचपाइ नाम खोलिदिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित सांसद रामहरि खतिवडाले गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने सम्भावना पार्टी सभापति शेरबहादुर देउवाको उच्च सम्भावना रहेको बताएका छन् ।

शुक्रबार ललितपुरका बाडेगाउँस्थित किशुनजीको आश्रममा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले अहिलेसम्मको परिस्थितिमा देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना आफूले देखेको बताए । उनले संसदीय दलको नेतामा पनि देउवा नै निर्वाचित हुने बताएका छन् ।

खतिवडाले भने, ‘अहिलेको सम्भावना हेर्दा पार्टी सभापति कै सम्भावना बढि देखिएको छ । आजको मितिसम्म ।

वास्तवमा युवाहरूको अहिलेको राजनीतिमा धेरै वर्षदेखि सत्तामा बसेका नेताहरूभन्दा युवालाई पनि लिएर हिँड्नुपर्छ भन्ने जनचासोको विषय बनेको छ ।’

‘कांग्रेसले यो जनमतलाई पनि सम्मान गर्छ । पुरानालाई नेताहरूलाई हामीले दुधबाट झिङ्गा निकाले जस्तो फुत्त झिकेर फाल्ने अवस्था अहिले छैन’, उनले भने, ‘हामी सबैलाई मिलाएर लैजान्छौँ । पुराना नेताहरूलाई पनि सम्मान गर्ने, युवालाई पनि लिएर हिँड्ने । दुबैको समायोजन भएर कांग्रेस अगाडि बढ्छ ।’

उनले भने, ‘कांग्रेसको मात्रै बहुमत भएको भए हामीलाई समस्या थिएन । गठबन्धनको सरकार बन्नुपर्छ भनेर अरुले पनि स्वीकार गर्नुपर्ने नेता हुनुपर्छ । पहिलो पार्टी नेपाली कांग्रेस हो । नेपाली कांग्रेसको सभापतिले नै प्रधानमन्त्रीमा पहिलो दाबी गर्नु हुन्छ । यस विषयमा हामी बसेर छलफल गर्ने छौँ ।’

‘आधा–आधा कार्यकाल भनेर कतै लेखिएको छैन । हामी गठबन्धन टुट्न दिँदैनौँ’, उनले भने, ‘सहमतिमा राजनीति अगाडि बढ्छ ।’

खतिवडाले भने, ‘तत्कालै सरकार गठबन्धनकै नेतृत्वमा हुन्छ । गठबन्धनका सबै नेताहरूले स्वीकार गर्ने नेता प्रधानमन्त्री हुने मैले महशुस गरेको छु ।’

‘यो विषयमा कांग्रेसको बैठक बस्छ । संसदीय दलको बैठक बस्छ’, उनले भने, ‘संसदीय दलमा को–को उम्मेदवार बन्छन् त्यसमा भर पर्छ । स्वतः पार्टी सभापति एउटा दाबी गरिरहनुभएको छ ।’

‘महामन्त्री गगन थापाले पनि दाबी गर्नुभएको छ । हामीलाई एउटा जोश भएको नेता र जोश भएका कार्यकर्ताहरूलाई समायोजन गरेर पार्टी अगाडि बढाउनुपर्ने आवश्यक्ता छ’, खतिवडाले भनेका छन् ।

‘सम्पूर्ण निर्वाचन परिणाम आएर संसदीय दलको चुनाव सम्पन्न भएपछि कुरा हुनेछ’, उनले भने, ‘पहिला संसदीय दलमा उठ्न तयार हुनुप¥यो नि ? उठ्न तयार भएपछि हामी छलफल गर्ने छौँ ।’

Published : Friday, 2022 December 2, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया