खाणमाथि पार्टीभित्रैबाट प्रहार, यी हुन् कांग्रेस हराउने अन्तर्घातीहरू (नामसहित)

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रुपमा सम्पन्न गरेका छन् ।

निर्वाचनमा सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री खाण आफै निर्वाचनमा पराजय व्यहोरेर निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा प्रश्न उठाउने स्थान देखिएन । निर्वाचनमा धाधली भयो भनेर कुनै पनि विपक्षी दलले प्रश्न पनि उठाएका छैनन् । खाण रुपन्देही ३ बाट २०४८, ४०६४, २०७० सालमा भएका संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

सांसद र पटक–पटक मन्त्री भएका बेला गरेका विकासले खाण रुपन्देहीबासीमाझ विकासप्रेमी नेताका रूपमा परिचित छन् । त्यो कांग्रेसका नेता कार्यकर्ताले मात्रै होइन, अन्य दलका नेता कार्यकर्ता र आम नागरिकले पनि स्वीकार्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, तिनाउँ नदीमा १० र दानब नदीमा १२ मोटरेबल पुल, दानब नदीको किनार कर्साघाटमा कृषि बजार थोक केन्द्र निर्माणका लागि २ अर्ब बजेटलगायतका दर्जनौ योजना गृहमन्त्री खाणले पारेका छन् ।

धेरै विकास गरेका र स्थानीयमाझ लोकप्रिय नेता खाण यो निर्वाचनमा तुलनात्मक रुपमा कमजोर उम्मेदवारसँग किन पराजित भए भन्ने प्रश्न अहिले उब्जिएको छ । परिकल्पना बेगरको पराजय खाणले व्यहोर्नुका कारण केलाउन सुरु भएका छन् ।

प्रारम्भीक निष्कर्ष पार्टीभित्रैको अन्तर्घातले खाणले पराजय व्यहोरेको चर्चा परिचर्चा सुरु भएको छ । उनलाई निर्वाचन जिताउन लागि परेका कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘हाम्रो प्रारम्भीक विश्लेषण पार्टीभित्रका साथीहरूले घात गरेका कारण उहाँको पराजय भएको छ । उहाँजत्तिको राष्ट्रिय राजनीतिकै खम्बा भइसकेको नेतालाई नचिन्नु र निर्वाचनमा उहाँको विपक्षमा लाग्नु आश्चर्यको विषय भएको छ । यसले पार्टी संगठनमा दीर्घकालीन प्रभाव पार्नेछ ।’

खाण निर्वाचित भएर गएपछि पार्टी र मुलुकको नेतृत्व गर्ने तहमा पुग्न सक्ने विष्लेषणसहित आन्तरिक रूपमा जसरी भए पनि हराउनै भनेर लागेकाले निर्वाचनमा पराजय व्यहोरेको तर्क पनि उनी निकटहरू गर्छन् । पार्टी केन्द्रमा उनलाई रोक्न सकेमा आफू नेतृत्व तहमा पुग्न सकिन्छ भन्ने विष्लेषणसाथ स्थानीय तहका नेताहरू परिचालन गरेको पनि पार्टी क्षेत्रीय समितिको प्रारम्भीक निष्कर्ष छ । वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका दाहिने हात खाणलाई पराजित गरेमा देउवा कमजोर हुने र आफूहरू अगाडि पुग्न सकिन्छ भन्ने मानसिकतामा पनि केही नेता लागेको स्रोत बताउँछ । खाणको पराजयले देउवालाईसमेत क्षति पुगेको पनि विश्लेषण हुन थालेको छ ।

पार्टीका केन्द्रका प्रभावशाली नेताहरू रुपन्देहीमा आएर पनि नेतालाई नभेटी कार्यकर्तामात्र भेटेर जानाले केही आशंका गर्ने ठाँउ रहेको बताइन्छ ।

रुपन्देही ३ प्रदेश सभा १ का वडामा कांग्रेसले स्थानी तह निर्वाचनमा ११ हजार ९ सय ३५ मत प्राप्त गरेको थियो । अहिले खाणले १७ हजार ४ सय ७४ मत ल्याएका छन् । जुन स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवारहरूले पाएको मतभन्दा ५ हजार ५ सय ३९ मत बढी हो ।

प्रदेश सभा २ अन्तर्गतका वडाहरूमा स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूले पाएको मत मात्रै जोड्दा २२ हजार ९ सय १८ मत थियो ।

अहिले खाणलाई १६ हजार ५ सय ६२ मत मात्रै आयो । यो मत गठबन्धन दलले खसालेको मतसहित हो । यो मत हेर्दा स्थानीय तह निर्वाचनमा पार्टी एक्लैले पाएको मतभन्दा ६ हजार तीन सय ५६ मत कम देखिन्छ ।

यी दुई प्रदेश सभामा पाएको मतको तथ्याङ्क हेर्दा उनीमाथि पार्टीभित्रैबाट अन्तर्घात भएको प्रष्टै देखिन्छ । प्रारम्भीक अनुसन्धानमा केही व्यक्तिको व्यवहारका कारण खाण पराजित भएको देखाएको छ । केही व्यक्तिले निर्वाचन अघि गरेका आकांक्षा पूरा नभएपछि निर्वाचनमा असहयोग गर्दा पराजय भएको भन्ने प्रारम्भीक सूचना आएका छन् ।

स्रोतका अनुसार २०७४ सालको निर्वाचनमा रुपन्देही ३ (२)बाट प्रत्यक्ष उम्मेदवार बनी पराजित भएका बुटवल उप–महानगरपालिका १५ का हरिध्वज मल्लले खाणलाई सहयोग गरेनन् । मल्ल अहिले पनि प्रदेश सभामा उम्मेदवारका आकांक्षी थिए । आफूले टिकट नपाएपछि पार्टीका निर्वाचन केन्द्रित कार्यक्रममा पनि मल्ल त्यति धेरै सहभागी भएनन् ।

त्यस्तै निवर्तमान लुम्बिनी प्रदेश सभाकी सांसद तिलोत्तमा नगरपालिका १४ की रमा अर्यालले पनि असहयोग गरेको अनुमान क्षेत्रीय समितिको छ । आफूलाई सांसदको उम्मेदवार नबनाएको र पार्टीमा पनि जिम्मेवारी नदिएको अर्यालले निकटस्थहरूलाई बताउने गरेकी छिन् ।

अघिल्लो निर्वाचनमा रुपन्देही १ (२)मा प्रत्यक्षतर्फ उम्मेदवार बनेर पराजित अहिले टिकटका प्रत्यासी भएर पनि नपाएका तिलोत्तमा नगरपालिका ९ का हरि न्यौपाने पनि खाणलाई हराउने रणनीतिमा लागेको बताइएको छ । उनी आफूले पाउनुपर्ने टिकट खाणले अर्कैलाई दिएको भन्दै असन्तुष्ट रहेको निकटस्थहरू बताउँछन् ।

शुद्धोधन गाउँपालिका ३ का रमेश खनाल ३ (२)मा प्रत्यक्षतर्फ टिकटका आकांक्षी थिए । तर, पार्टीका पूर्वजिल्ला सभापति रामचन्द्र ढकाललाई टिकट दिएपछि प्रचार प्रसारमा त्यति नदेखिएका खनाल पनि भित्री रुपमा खाणलाई हराउन भूमिका खेलेको निकटस्थहरू बताउँछन् ।

शुद्धोधन गाउँपालिका २ का भगवतीप्रसाद चौधरी लुम्बिनी प्रदेश सभाको समानुपातिकतर्फ उम्मेदवारका आकांक्षी थिए । तर, समानुपातिक सूचीमा नपरेपछि चौधरीले पनि सहयोग नगरेको बुझिएको छ ।

उता, नेपाली कांग्रेसले पहिला रुपन्देही ५(१)मा पार्टी नेता विष्णु पोखरेललाई टिकट दिएको थियो । पछि उनको टिकट केन्द्रबाटै खोसेर अर्कैलाई दिइएको थियो । आफ्नो टिकट खोसिएपछि पोखरेलले पत्रकार सम्मेलन नै गरेर खाणले आफ्नो टिकट खोसेको आरोप लगाएका थिए । विभिन्न मिडियाले उनले त्यो भनाइलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका थिए ।

बुटवल उपमहानगरपालिका ३ का रामबहादुर कार्कीले रुपन्देही २(२)बाट टिकट दाबी गरेका थिए । गठबन्धनभित्र भागवण्डा गर्दा माओवादीको भागमा परेपछि उनी पनि रुष्ट थिए ।

सियारी गाउँपालिका ६ का खगेन्द्रप्रसाद रिजाल र रत्नबहादुर रानाभाट, सियारी १ का जसवन्त कुँवर तथा बुटवल उप–महानगरपालिका १९ का जोगबहादुर खत्री र पोषराज चापागाइँले पनि सहयोग नगरेको प्रारम्भीक समीक्षामा देखिएको छ ।

रुपन्देही ३ कांग्रेसको क्षेत्रीय कार्यसमितिले प्रारम्भीक समीक्षामा असहयोग गरेको देखिन आएका व्यक्तिहरूलाई प्रमाण पुर्‍याएर केन्द्रको अनुशासन समितिमा कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको छ ।

Published : Sunday, 2022 November 27, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया