बहुविवाहमा सजाय पाएका लोसपाका मेहतको उम्मेदवार खारेज

काठमाडौं । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी बदर गरिदिएको छ ।

बुधबार आयोगले विज्ञप्ति जारी गरेर मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले उनको उम्मेदवारी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर गरेको जनाएको छ ।

मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरीे प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको हो ।

मेहताको उम्मेदवारी बदर भएसँगै निर्वाचनका मतपत्रहरू छपाई भई सम्बन्धित मतदान अधिकृतले बुझी मतदान केन्द्रमा पुर्‍याउने प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले अर्काे मतपत्र डिजाइन तथा छपाइ गरी मतदान अगावै सबै मतदान केन्द्रमा मतपत्र पु¥याउन समयाभावको कारणले असम्भव भएको हुँदा मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन समेत दिएको छ ।

Published : Wednesday, 2022 November 16, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया