मेलम्चीमा उड्यो हेलिकप्टर, मञ्चमै पड्किएर फर्किए लिङ्देन–राणा

मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेता पशुपतिशम्शेर राणा सहभागी कार्यक्रममा कार्यकर्ता नआएपछि तनाब भएको छ ।

बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित चुनावी सभामा राप्रपाका अध्यक्ष लिङ्देन र वरिष्ठ नेता राणा सम्बोधन गर्न हेलिकप्टरमार्फत आएका थिए । कार्यक्रममा मुस्किलले ५÷६ सय कार्यकर्ता मात्रै उपस्थित रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चुनावी सभामा कार्यकर्ता थोरै आएको देखेपछि नेता राणा मञ्चमा पड्किएका छन् । राणाले राप्रपाका स्थानीय नेताहरूको सातो लिएको सिन्धुपाल्चोक राप्रपाका एक जिल्ला नेताले बताएका छन् ।

अध्यक्ष लिङ्देनले पनि राप्रपाको गढ मानिएको मेलम्चीमा १ हजार कार्यकर्ता पनि उपस्थित हुन नसक्नुमा चिन्ताको विषयमा भएको नेताहरूसँग कुरा राखेका छन् ।

राप्रपाका अध्यक्ष लिङ्देन र नेता राणाले दुई हजार जना कार्यकर्तालाई खाना बनाउन निर्देशन दिएका थिए ।

भात र मासु खाने कार्यकर्ता समेत नभएपछि अध्यक्ष लिङ्देन र नेता राणा चिन्तित बनेको एक नेताले बताए ।

बिहीबार बिहान मेलम्ची क्षेत्रकी नेतृ एवम् केन्द्रीय सदस्य यस्मिन ढुंगाना ठूलो संख्यामा नेता कार्यकर्ता लिएर नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् । मेलम्ची क्षेत्रमा नेतृ ढुंगानाको प्रभाव मानिन्छ ।

सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रदेश सभातर्फ १ मा माओवादी केन्द्रका नेता युवराज दुलाल र २ मा कांग्रेसका नेता कृष्णकुमार तामाङ ‘समिर’ले उम्मेदवारी दिएका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनले उम्मेदवारी दिएर मतदाताहरू सबैलाई आफ्नो पक्षमा ल्याएपछि अन्य दलका उम्मेदवारहरू चिन्तामा परेका छन् ।

Published : Thursday, 2022 November 10, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया