राप्रपाकी केन्द्रीय सदस्य यसमिन कांग्रेसमा प्रवेश, सिन्धुपाल्चोकमा झन् शक्तिशाल बन्यो गठबन्धन

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा लोकतान्त्रिक–वाम गठबन्धन झन् बलियो अवस्थामा देखिन थालेको छ ।

बिहीबार बिहान नयाँबानेश्वरमा विशेष कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य यसमिन ढुंगाना जम्बो टोलीसहित नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । ढुंगानासहित सिन्धुपाल्चोकका करीव १५० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्यद्वय विमलेन्द्र निधि र मोहनबहादुर बस्नेतसहितका नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।

सिन्धुपाल्चोक–२ मा कांग्रेस नेता बस्नेत प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।

नेता बस्नेत सिन्धुपाल्चोक–२ मा उम्मेदवार बनेपछि राप्रपा, एमालेसहितका दलहरूका कार्यकर्ताले समेत समर्थन गर्न थालेका छन् । राप्रपाकी केन्द्रीय सदस्य ढुंगाना कांग्रेसमा प्रवेश गरेपछि बस्नेतको पक्षमा जबरजस्त माहोल बनेको छ ।

एमालेका केही नेता कार्यकर्ताहरू पनि कांग्रेस नेता बस्नेतसँग सम्पर्कमा आउन थालेका छन् । सिन्धुपाल्चोकको विकास र जनताको सुखदुःखमा बस्नेतको साथ आवश्यक रहेको भन्दै एमालेका कार्यकर्ताहरू सम्पर्कमा आउन लागेको नेताहरूले बताएका छन् ।

यसैबीच, कांग्रेस नेता निधिले सत्तागठबन्धनलाई मतदान गरेर जिताउन अनुरोध गरेका छन् । उनले भने, ‘सत्तागठबन्धनलाई जिताउनुपर्छ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको जित अनिर्वाय छ ।’

नेता निधिले समानुपातिकमा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन् । उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ गठबन्धन हो । समानुपातिकमा होइन । समानुपातिकमा चुनाव चिन्ह रुखमा भोट हाल्नुपर्छ ।’

नेता बस्नेतले सिन्धुपाल्चोकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । उनले भने, ‘लोकतान्त्रिक–वाम गठबन्धनले जित्छौँ । हामीलाई ठाउँ–ठाउँमा मतदाताको साथ र समर्थन छ ।’

राप्रपा, एमालेलगायतका दल परित्याग गरेर कांग्रेस प्रवेश गर्नेहरूमा थलबहादुर तामाङ, शिवप्रसाद खतिवडा, समिर खतिवडा, छविलाल ढकाल, प्रदीप तामाङ, पदम गुरुङ, नजरमान श्रेष्ठ, जंगे गुरुङ, अर्जुन गुरुङ, कविता गुरुङ, अम्बिका बानियाँलगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Thursday, 2022 November 10, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया