देउवालाई धनगढीमा भव्य स्वागत, कैलालीको घरमा कार्यकर्तासँग भेटघाट

धनगढी । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा जानका लागि कैलालीमा आएका छन् ।

बुधबार देउवा धनगढी आइपुगेका हुन् । कैलालीमा देउवा कार्यकर्तासँगको भेटघाटमा व्यस्त भएका छन् ।

देउवा हेलिकोप्टरमार्फत धनगढी आएका हुन् । प्रधानमन्त्री देउवालाई नेता, कार्यकर्ताहरूले धनगढीस्थित उनकै निवासमा भेट गरेका थिए । देउवालाई धनगढीमा पार्टीका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

देउवाले चुनावको तयारी अवस्था, सुरक्षा अवस्था लगायत बारेमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धनलाई जिताउन प्रदेशमा भएको तयारी बारेमा चासो राखेका छन् ।

सत्तागठबन्धनका उनले उम्मेदवारलाई जिताउन लाग्न आग्रहसमेत गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्यद्वय नृपबहादुर वड, ईश्वरी न्यौपाने, कैलालीका सभापति नारायणदत्त भट्ट र जिल्ला सचिव केशव मिश्रले पनि प्रधानमन्त्री देउवासँग भेटघाट गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्त, क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजनम चौधरीले पनि प्रधानमन्त्री देउवासँग भेट गरेका छन् ।

कैलाली, कञ्चनपुर र डोटी कांग्रेसका नेता, कार्यकर्ता, प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले देउवासँग भेट गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणापछि पहिलो पटक गृह प्रदेश आएका छन् ।

सभापति एवम् प्रधानमन्त्री देउवा बिहीबार चुनाव प्रचारप्रसारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।

देउवा चार दिनसम्म प्रचारप्रसार गर्ने कार्यक्रम तय भएको कांग्रेस कैलालीले जनाएको छ ।

डडेल्धुराबाट प्रधानमन्त्री देउवा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् ।

प्रधानमन्त्री देउवा प्रचारप्रसारका लागि आफ्नो गृह जिल्लातर्फ बिहीबार बिहान ११ बजेतिर प्रस्थान गर्नेछन् ।

Published : Wednesday, 2022 November 2, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया