नयाँ प्रधानमन्त्रीबारे आरजु राणाको यस्तो छ प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले प्रधामन्त्री बन्ने इच्छा भएपनि तत्काल आफ्नो दाबी प्रधानमन्त्रीमा नरहेको बताएकी छिन् ।

सोमबार जनकपुरमा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पदमा आफ्नो तत्काल दाबी नरहेको बताएकी हुन् ।
उनले राजनीतिमा लागेपछि जो कोहीको इच्छा प्रधानमन्त्री, मन्त्री बन्ने हुने उल्लेख गरेकी छिन् ।

‘मेरोमा पनि त्यो इच्छा हो । तर, म अहिले त्यसको दाबी गर्दिन’, उनले भनेकी छिन्, ‘प्रधानमन्त्री हुन अनुभव चाहिन्छ, देश चलाउने सक्ने क्षमता चाहिन्छ, भने जस्तो सजिलो छैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेतृ राणाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलहरूले राम्रो सिट ल्याउने बताएकी छिन् ।

‘सत्तागठबन्धन दलहरूभित्र अब कुनै विवाद छैन’, नेतृ राणाले भनेकी छिन्, ‘अधिकांश बागी उम्मेदवारहरू सहमतिमा आइसकेका छन् । भएकाले कुनै प्रभाव पार्न सक्दैनन् ।’

उनले जनकपुरधामको छठमा आफू पहिलो पटक सहभागी भई सूर्य देवतालाई पूजा गर्न सकेकोमा खुसी लागेको बताएकी छिन् ।

विश्व प्रसिद्ध जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न आफूले पहल गर्ने उनले बताएकी छिन् ।

Published : Tuesday, 2022 November 1, 10:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया