यस्ता छन् गृहमन्त्री खाणका संकल्पहरु, सत्तागठबन्धनको एउटै बोली

तिलोत्तमा । रुपन्देहीको क्षेत्र नं. ३ मा सत्तागठबन्धनले ६६ बुँदे संकल्पपत्र सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक गरिएको संकल्पपत्रका अधिकांश बुँदामा संघीय सरकार र स्थानीय तहले यसअघि नै अघि बढाएका काम र विषय समेएिका छन् ।

सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माण, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने र डण्डा र रोहिणी नदी कटानलाई व्यवस्थित गरिने उल्लेख छ ।

बेलवास–बेथरी सडकको स्तरोन्नति, बेलहिया बुटवल खण्डमा रहेको ६ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर बनाउने उल्लेख छ ।

कालीगण्डकी–तिनाउ डाइभर्सन कार्यान्वयन, मर्चवारदेखि मुस्ताङ्गसम्म सडक निर्माण, बुटवल– भैरहवा– सुनौली राजमार्गमा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने पनि संकल्पपत्रमा उल्लेख छ ।

बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ, सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक क्षेत्रमा विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नितिगत निर्णयहरु गर्ने संकल्पपत्रमा उल्लेख छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा थप गरिने संकल्पपत्रले समेटेको छ ।

भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तरवृद्धि गर्ने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मावि, सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नति र प्राविधिक विषयमा थप कार्यक्रम सञ्चालन गर्न विशेष पहल गरिने उल्लेख छ ।

घोषणापत्र सार्वजनिक गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले भौतिक पूर्वाधारका साथै मानवीय र सामाजिक विकासलाई पनि चुनावी संकल्पपत्रले समेटेको बताए ।

उनले आफू ‘टुरिस्ट’ उम्मेदवार नभएको बताउँदै रुपन्देही नै आफ्नो राजनीतिको केन्द्र भएको बताएका छन् ।

Published : Sunday, 2022 October 30, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया