निर्वाचनमा कांग्रेसले देखाएको बाटोमा कृयाशील हुन तरुण अध्यक्षको निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले देखाएको बाटोबाट आफूलाई कृयाशील गराउन निर्देशन दिएका छन् ।

बिहीबार तरुण दलको ६९औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष गुरुङले लोकतन्त्रको स्थायित्व र स्थिर सरकार निर्माण गरी राष्ट्रियताको जगेर्ना आग्रह गरेका छन् ।

उनले समृद्ध राष्ट्र निर्माणका लागि योगदान पु¥याउन आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शबाट दिक्षित लोकतन्त्रवादी नेपाली तरुणहरुको गौरवशाली संस्था नेपाल तरुण दल आज आफ्नो स्थापनाको ६८ वर्ष पूरा गरी ६९ वर्षमा प्रवेश गरेको छ ।’

‘प्रजातान्त्रिक समाजवादको बाटोबाट नेपाली समाजलाई सम्पन्न बनाउन मूल उदेश्यका साथ महामानव वीपी कोइरालाद्वारा २०१० साल कार्तिक १० गते स्थापना गरिएको नेपाल तरुण दल ईतिहासको विभिन्न कालखण्डहरु पार गर्दै आज ६९औँ स्थापना दिवस मनाउँदै गर्दा दलका लाखौँ सदस्य तरुणहरु हर्षउल्लासका साथ लोकतन्त्रको उर्वर जगमा समतामूलक समाजको स्थापनाका लागि हातेमालो गर्दै अगाडि बढि रहेको परिप्रेक्षमा सबै तरुण साथीहरुलाई केन्द्रीय समिति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ’, उनले भनेका छन् ।

‘आजको ऐतिहासिक दिनमा लोकतन्त्रको लागि जीवन बलिदान गर्ने ज्ञात अज्ञात महान तरुण शहीदप्रति नेपाल तरुण दल हार्दिक सम्मान व्यक्त गर्दछ’, उनले भनेका छन् ।

अध्यक्ष गुरुङले भने, ‘लोकतन्त्र स्थापनाको लामो लडाइँमा अनवरत संघर्षशील भई आफ्नो उर्जावान यौवन खर्चने लाखौं तरुण साथीहरुलाई दलको केन्द्रीय समिति आजको पावन दिनमा हार्दिक अभिनन्दन गर्दछ ।’

‘राणा शासनको अन्त्य देखि पञ्चायत र राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि बहादुरीका साथ लड्ने तरुण साथीहरुलाई वर्तमानको जटिल परिस्थितिलाई मध्यनजर गर्दै यही २०७९ साल मंसिर ४ गतेको संघीय संसद र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले देखाएको बाटोबाट आफूलाई कृयाशील गराउन र लोकतन्त्रको स्थायित्व र स्थिर सरकार निर्माण गरी राष्ट्रियताको जगेर्ना र समृद्ध राष्ट्र निर्माणका लागि योगदान पुर्‍याउन नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक आव्हान गर्दछ’, अध्यक्ष गुरुङले भनेका छन् ।

Published : Thursday, 2022 October 27, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया