किन सोधियो गगन थापासँग तिहारको मुखमा कडा स्पष्टीकरण ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका महामन्त्री थापासँग आयोगले आइतबार स्पष्टीकरण सोधेको हो ।

आयोगले भनेको छ, ‘फेरि पनि काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ ।’

‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’, आयोगको स्पष्टीकरणमा थापासँग सोधिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ ।

आयोगले भनेको छ, ‘निर्वाचन आचारसंहिता लागू भई सकेको जानकारी हुँदा–हुँदै तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।’

निर्वाचनमा मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा निर्वाचनको स्वच्छता र निष्पक्षताको प्रतिकूल हुने गरी ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा र आवश्यक चिकित्सकीय परामर्श सेवा प्रदान गर्छौं’ भन्ने समेत विषय उल्लेखित ट्वीट गरेको हो वा होइन भनेर आयोगले थापालाई सोधेको छ ।

‘तपाईंले आफ्नो ट्वीटर एकाउन्टमार्फत गर्नुभएको सार्वजनिक सूचना निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) प्रतिकूल भई उक्त कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कार्बाही किन हुनु नपर्ने हो ?’ स्पष्ट पार्न आयोगले भनेको छ ।

Published : Monday, 2022 October 24, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया