एमालेको अधिनायकवाद रोक्न सत्तागठबन्धनका उम्मेदवारहरुले जित्नुपर्छ : दाङ कांग्रेसका नेताहरु
मसुरिया । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर डाँगीसहितका नेताहरुले सत्तागठबन्धनका उम्मेदवारहरुले नजित्ने हो भने एमालेको निरंकुशता र अधिनायकवाद स्थापित हुन सक्ने चेतावनी दिएका छन् ।
आइतबार नेपाली कांग्रेस राप्ती गाउँपालिका कार्यसमितिले मौरिघाटस्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा नेताहरुले सत्तागठन्धनका उम्मेदवारहरुलाई जिताउनपर्ने बताए । उनीहरुले सत्तागठबन्धनका उम्मेदवारहरु पराजित भएको अवस्थामा पुनः एमालेको अधिनायकवादी शासन सत्ता फर्किन सक्नेतर्फ सचेत गराएका हुन् ।
कांग्रेसका नेताहरुले दाङका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरु कांग्रेसकै उम्मेदवार भएको बताए । उनीहरुले कांग्रेसको उम्मेदवारलाई माओवादी, एकीकृत, राष्ट्रय जनमोर्चाले आफ्नो उम्मेदवार ठान्नुपर्ने बताए । कांग्रेसका नेताहरुले समानुपातिकमा आ-आफ्नो दलको चुनाव चिन्हमा मतदान गर्न पनि अपील गरेका छन् ।
कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले कांग्रेस नेतृत्वको सत्तागठबन्धनले दाङमा मात्र नभई देशभरि जित्नुपर्ने बताए । उनले विगतमा एमालेले जित्दा संविधान र लोकतान्त्रिक गणतन्त्र समाप्त हुने अवस्थामा पुगेको बताए ।
कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ५ दलीय गठबन्धनले संविधानको रक्षा गरेको उनले बताए । तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले आफ्नो बहुमत हुँदाहुँदै दुई पटक संसद विघटन गरेर जनताले ल्याएको उपलब्धीलाई समाप्त पार्न खोजेको बताए ।
सभापति डाँगीले सत्तागठबन्धनका उम्मेदवारले नजित्ने हो भने पाँच वर्षसम्म पछुताउनुपर्ने अवस्था आउने बताए । उनले एमालेका महासचिव शंकर पोखरेलबाट आइरहेका अभिव्यक्तिको आलोचना गरेका छन् ।
डाँगीले एमालेसँग एजेण्डा नभएको बताएका छन् । एजेण्डा नभएकै कारण दाङको क्षेत्र नं. ३ मा एमालेका उम्मेदवारहरुले मतदातालाई ढोग्ने र फोटो खिचेर फेसबुकमा राख्ने कार्य गरिरहेको डाँगीले बताए । उनले दाङमा एमालेको हर्कतको नाङ्गेझार बनाएका छन् ।
डाँगीले विगतमा ओलीले झण्डै दुईतिहाईको बहुमत हुँदा पनि दुई पटक संसद विघटन गरेको बताउँदै पुनः एमालेलाई जिताउने हो भने मुलुकमा परिवर्तन नआउने र अधिनायकवादले जरो गाड्ने बताए ।
कांग्रेस सभापति डाँगीले एमालेले राप्रपा, कमल थापा, जसपासँग गठबन्धन गरेको विषयलाई तालमेल भनेर जनतालाई झुठ बोलेका बताएका डाँगीले कांग्रेसको गठबन्धनलाई अप्राकृतिक भनेकोमा आक्रोश पोखेका छन् ।
‘उपेन्द्र यादवजीले कांग्रेस र जसपाको भोट बैंक एउटै भएकोले एमालेसँग गठबन्धन गरेको भन्नुभएको छ । कमल थापा चुनाव चिन्ह सूर्य लिएर उम्मेदवार बन्नुभएको छ । त्यसलाई के भन्ने ? प्रकृतिक गठबन्धन कि ? अप्राकृतिक गठबन्धन ?’, सभापति डाँगीले प्रश्न गर्दै भने, ‘कांग्रेस र माओवादी, एकीकृत समाजवाद, राष्ट्रिय मोर्चाको गठबन्धन अप्राकृतिक छैन । ओलीजीले गर्ने जे पनि प्राकृतिक हुने । कांग्रेस नेतृत्वका दलहरुले गर्ने कुरा अप्राकृतिक हुने भनेर गरिएको टिप्पणी कसरी मिल्छ ? मिल्दैन ।’
दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले सत्तागठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै कांग्रेस नेतृत्वले गरेको आदेश र निर्देशनलाई ईमान्दार कार्यकर्ताले पूर्णरुपमा पालना गरेर सत्तागठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी बनाउनुपर्ने बताए ।
उनले भने, ‘दाङमा मात्रै गठबन्धन भएको वा कांग्रेसका केही नेताहरुले टिकट नपाएको होइन । दाङमा कांग्रेसका सबै नेताहरुले टिकट पाएका छैनन् । टिकट नपाउनेमा म पनि हुँ । तर, पार्टीको निर्देशनलाई मान्नुपर्छ । सत्तागठबन्धनका उम्मेदवार जिताउनुपर्छ ।’
क्षेत्रीय सभापति पाण्डेले सत्तागठबन्धनको नेतृत्व पनि कांग्रेसले गरेको र निर्वाचन पनि कांग्रेस नेतृत्वको सरकारले गरिरहेको भन्दै सत्तागठबन्धनका उम्मेदवारलाई दायाँ नगरेर मतदान गरी विजयी बनाउन अपील गरेका छन् ।
प्रदेश सभा १ तर्फका कांग्रेसका सभापति श्रीपत चौधरीले आफूहरु सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउने बताए । उनले आफूहरुको ईमान्दारिताका विषयमा प्रश्न नउठाउन आग्रह गरे ।
कांग्रेसका नेता नुमानन्द सुवेदीले कांग्रेसले सत्तागठबन्धनका उम्मेदवारलाई मतदान गर्न आतुर रहेको बताए । उनले सत्तागठबन्धनका उम्मेदवारहरुले जित्ने बताए ।
कार्यक्रममा पूर्वसांसदहरु सुशीला चौधरी, विमला नेपाली, एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधि सभा क्षेत्र नं. १ मा सत्तागठबन्धनका उम्मेदवार मेटमणि चौधरी, प्रदेश सभातर्फ १ का उम्मेदवार एवम् माओवादी नेता ईन्द्रजित चौधरी, कांग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, नेता द्रोण भुसाल, नेतृ जगदम्बा चौधरी, सन्तोष योगी, गोबर्धन रावत, हरि भुसाल, श्याम ज्ञवाली, सीताराम गिरी, राप्ती गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष एवम् राष्ट्रिय जनमोर्चाका नेता वीरबहादुर चौधरी, एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरुको उपस्थिति रहेको थियो ।













बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया