पार्टी र जातीय कुरा छाडेर संविधानको रक्षाका लागि सत्तागठबन्धनलाई जिताउनुपर्छ : रामहरि खतिवडा
ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी र जातीय कुराभन्दा माथि उठेर सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरेका छन् ।
बुधबार ओखलढुंगाको सिद्दिचरण नगरपालिका–६ मा जनकल्याण युवा क्लबद्वारा आयोजित भलिबल कार्यक्रममा बोल्दै खतिवडाले विचार गरेर उचित उम्मेदवारलाई विजयी नबनाउने होभने ५ वर्षसम्म पछुताउनुपर्ने बताए । उनले ओखलढुंगाको विकास र उन्नतिका लागि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे ।
उनले सत्तागठबन्धनले जितेमा मात्रै ओखलढुंगाको विकासमा फड्को मार्न सकिने बताए । उनले संविधानको रक्षा र मुलुकको विकासका लागि सत्तागठबन्धनलाई जिताउनुपर्ने बताए । उनले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले झण्डै दुईतिहाईको बहुमत हुँदा पनि दुई पटक संसद विघटन गरेको बताए ।
उनले भने, ‘सम्पूर्ण ओखलढुंगाबासीहरूले पार्टी र जातीय कुराभन्दा माथि उठेर मतदान गरी सत्तागठबन्धनका उम्मेदवारहरूलाई जिताउनुपर्छ ।’
खतिवडाले समग्र ओखलढुंगालाई नयाँ दिशा दिने दृढ इच्छाशक्तिका साथ आफू उम्मेदवार भएको बताएका छन् ।
उनले जन्तरखानीका जनतासँगको आफ्नो सम्बन्ध बेग्लै रहेको भन्दै जन्तरखानीको मायाले आफूलाई तानेर ल्याएको बताए ।
‘युवा समूह, आमा समूहले आउनेबितिकै मलाई सम्मान गर्नु भयो’, खतिवडाले भने, ‘यती विश्वास दिलाउन चाहान्छु म जितेपछि यो ठाउँको लागि सधैं ईमान्दार भएर लाग्नेछु ।’
‘तपाईंको एकमतले तपाईंको सन्ततीलाई समेत असर पुग्ने भएकाले सहि ठाउँमा सहि मान्छे मलाई मतदान गरीदिनु होला’, खतिवडाले आग्रह गरेका छन् ।
ओखलढुंगामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेस नेता खवितवडाले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार र २ मा माओवादी केन्द्रका नेता बाबुराम गौतमले उम्मेदवारी दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया