कर्णालीका जनताको साथी बन्यो कांग्रेस, दःखमा पर्खाल बनेर बोल्यो

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेशका जिल्लाहरूमा हालै भएको प्राकृतिक विपदको घटनाका सम्बन्धमा चिन्ता जनाएको छ ।

शुक्रबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले गहिरो दुःख व्यक्त गरेको हो ।

‘२०७९ असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका जिल्लाहरू रुकुम पश्चिम, मुगु, कालीकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करीब ३ दर्जन व्यक्तिको मृत्यु, २० जना वेपत्ता र २३ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक सहानुभूति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

रुकुम पश्चिममा ७, मुगुमा २३६, कालीकोटमा २३२, हुम्लामा २८, सुर्खेतमा १२९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा ५, जुम्लामा ३६८ र दैलेखमा २७१ घरहरू पूर्ण रुपमा क्षति भएका छन् ।

रुकुम पश्चिममा ३, मुगुमा ३९९, कालिकोटमा ४३५, हुम्लामा ३२, सुर्खेतमा १२७, सल्यानमा ४२, डोल्पामा ६, जुम्लामा ४४० र दैलेखमा २३६ घरहरु उच्च जोखिममा रहेको कांग्रेसले जनाएको छन् ।

रुकुम पश्चिममा १५, मुगुमा ५२८२, कालीकोटमा १७६३, हुम्लामा ४७४, सुर्खेतमा ५६६, सल्यानमा ६२९, डोल्पामा ३२, जुम्लामा १७२५, दैलेखमा १६२० र जाजरकोटमा १८ जना स्थानीय वासिन्दा विस्थापित हुन वाध्य भएका छन् ।

कर्णाली राजमार्गका दैलेख, कालीकोट, जुम्ला, मुगुका केही स्थानहरू अवरुद्ध भएका छन् ।

‘प्राकृतिक विपदमा परि जीवन गुमाउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा कार्यसम्पादन समितिको यो बैठक भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ र उहाँहरूका शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

‘प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारहरू (केन्द्र, प्रदेश र स्थानीय तह) सँग यो बैठक आग्रह गर्दछ’, कांग्रेसले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरूले पार्टी तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने कार्यमा सहयोग पुर्‍याउन यो बैठक निर्देश गर्दछ ।’

Published : Saturday, 2022 October 15, 9:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया