दाङमा दीपक-राजु-डिल्ली-अनुराग-प्रचण्डको मनोनयन दर्ता, खुमबहादुरका छोरा आएनन्

घोराही । नेपाली कांग्रेसको तर्फबाट दाङमा १ प्रतिनिधि सभासहित ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ ।

दाङको क्षेत्र नं. ३ मा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं. ३ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’मा नेता डिल्लीबहादुर चौधरीले मनोनयन दर्ता गराएका छन् ।

दाङ क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’मा लुम्बिनी प्रदेश कांग्रेसका उप–सभापति राजु खनाल र ‘ख’मा प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

दाङको क्षेत्र नं. १ को ‘ख’मा अनुराग खड्काले मनोनयन दर्ता गराएका छन् । खड्काले वारिसमार्फत लमहीमा मनोनयन दर्ता गराएका हुन् ।

प्रदेश सभातर्फ टिकट पाएर मनोनयन दर्ता गराएका अनुराग स्व.खुमबहादुर खड्काका छोरा हुन् । अनुरागकी आमा शिला गौतम खड्का पनि कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

मौसमका कारण जहाज समयमा उड्न नसकेपछि अनुरागले वारेसमार्फत मनोनयन दर्ता गराएका हुन् । उनले आफू स्वयं उपस्थित भएर मनोनयन दर्ता गराउन नसकेको चिन्ता जनाएका छन् ।

गठबन्धनका कारण दाङमा कांग्रेसले एउटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभातर्फ मनोनयन गर्न पाएको छ ।

लुम्बिनी प्रदेशका उप–सभापति एवम् दाङ क्षेत्र नं. २ ‘क’तर्फ उम्मेदवार बनेका राजु खनालले गठबन्धनका सबै उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् ।

उनले कांग्रेस दाङमा बलियो अवस्थामा रहँदारहँदै पनि गठबन्धनका कारण धेरै क्षेत्र गुमाउनु परेको भन्दै केन्द्रीय नेतृत्वको बाध्यता बुझिदिनुपर्ने बताए ।

उनले पार्टीभित्रका सबै तिक्तताहरू भुलेर आन्तरिक रुपमा बलियो भएर चुनावमा जाँदा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् ।

Published : Monday, 2022 October 10, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया