बागमतीमा कांग्रेसले अति विपन्नलाई पहिलो वर्ष २५ सय घर बनाएर दिन्छ : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बागमतीमा कांग्रेसको बन्यो भने अति विपन्नहरूलाई घर बनाएर वितरण गर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले पहिलो वर्ष २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए ।
‘बागमती प्रदेशले विपन्न, लोपोन्मुख, सीमान्तकृत, अल्पसंख्यक जनतालाई पहिलो वर्ष नेपाली कांग्रेसले २५ सय घर बनाएर हस्तान्तरण गर्नेछ’, उनले भने, ‘कांग्रेसको सरकार बन्नेवित्तिकै अभियानको शुरु गर्नेछ ।’
‘त्यसपछि विपन्न १० हजार परिवारको कांग्रेसको बागमती प्रदेश सरकारले घर बनाउनेछ’, उनले भने, ‘एउटा घर ५ लाखमा बन्छ । एक अर्बले त्यस्ता घरहरू बन्छ ।’
सभापति बानियाँले भने, ‘प्रदेशको बजेट एक खर्ब हुन्छ । गरिवलाई कांग्रेसप्रति आकर्षण बढाउनुपर्छ ।’
उनले धनीलाई कसरी यो प्रदेशमा अवसर दिने ? उद्योग, धन्दा गर्न सहयोग गर्नुपर्छ भनेर नीति नियम बनाइदिनुपर्ने बताएका छन् । उनले पर्यटन व्यवसायलाई जोड दिएका छन् ।
‘लाङटाङको पानीलाई विश्व बजारमा लैजान केन्द्र सरकारसँग समन्वय गरेर प्रदेश सरकारले विशेष सहुलियत दिएर उद्योग खोल्नुपर्छ’, उनले भनेका छन् ।
‘गोसाइकुण्ड, लाङटाङ, पशुपतिनाथ, स्वयम्भु, विभिन्न धार्मिक सर्किट, पर्यटकीय सर्किट, कृषिसँग जोडेर पर्यटनलाई जोड दिनुपर्छ’, सभापति बानियाँले भनेका छन् ।
उनले बागमती प्रदेशमा उत्पादन हुने किबीसहितका फलफूलबाट गुणस्तरीय रक्सी बनाउन सकिने बताएका छन् ।
‘विदेशबाट आउने रक्सीलाई कम आयात होस् भनेर आफ्नै स्थानीय कृषिका उपज प्रयोग गरेर रक्सी बनाउनुपर्छ’, उनले भनेका छन् ।
‘विदेशबाट आयात हुने कपडामा कर बढाएर जाने । स्वदेशी समानलाई प्रयोग गर्नुपर्छ’, बानियाँले भनेका छन् ।
सभापति बानियाँले संघीयतालाई बोझिलो होइन ओझिलो बनाउनुपर्ने बताएका छन् । उनले एमालेलाई संघीयता विरोधीको आरोप लगाए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया