डा.सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ प्रदान, विदेश बस्ने क–कसले पाए विभूषण ?
लन्डन । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्ने घोषणा भएको छ ।
जसअनुसार प्रा.डा.सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ प्रदान गरिएको छ ।
अहिलेसम्म गैरआवासीय नेपालीहरूले पाएका मान पदवीहरूमध्ये यस्तो उपल्लो तहको मान पदवी पाउने प्रा.डा.सुवेदी पहिलो व्यक्ति हुन् ।
भौतिक रूपमा विदेशमा रहेपनि निरन्तर मुलुकको सेवा गर्दै आएका उनले आफ्नो योगदानको मूल्यांकन भएकोमा नेपाल राष्ट्रप्रति आभार ब्यक्त गरेका छन् ।
सरकारमा जो आएपनि परिआउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै प्रकारका सरकारलाई उनले सल्लाह दिंदै आएका छन् ।
नेपालको नयाँ नक्शा समावेश गरेर संविधान संशोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री खड्गप्रसाद ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सीमासम्बन्धि विज्ञ समूहको सदस्यको रूपमा र त्यसपछि नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत उनले आफ्नो भूमिका निर्वाह गरेका छन् ।
सन् २०२२ मा अमेरिका संगको एमसीसी सम्झौता संसदले अनुमोदन गर्ने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अक्सफोर्ड विश्व विद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने उनी संसारकै प्रतिष्ठित विद्वत व्यक्तित्वभित्र पर्दछन् ।
विशेषज्ञको हिसाबले संयुक्त राष्ट्रसंघको सबैभन्दा उपल्लो विज्ञतहमा पुगेको नेपाली हुनुको साथै उनले नेपालमा विभिन्न सरकारी क्षेत्रमा सेवा गरेका छन् ।
उनले लामो समयसम्म नेपालको अन्तर्राष्ट्रिय अनुहारको रूपमा संसारमा नेपालको परिचय गराएका छन् । प्रा.डा.सुवेदीले नेपाल सरकारको प्रतिनिधि मण्डलको सदस्य भएर संयक्त राष्ट्र संघ र असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिएका छन् ।
अन्य धेरै अन्तर्राष्ट्रिय मंचमा नेपालको प्रतिनिधित्व गरेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषको फ्रान्समा भएको विश्व सम्मेलनको कानूनी सल्लाहकारको रूपमा पनि काम गरेका छन् ।
बेलायत र अमेरिका लगायतका पांचवटा देशका सातवटा विश्व विद्यालयमा प्राध्यापन गरेका प्रा.डा.सुवेदीका कृतिहरू विभिन्न देशका भाषामा अनुदित भै प्रकाशन भएका छन् ।
उनको पूर्वीय सभ्यतामा मानवअधिकार भन्ने ग्रन्थ अन्तर्राष्ट्रिय रूपमै चर्चित ग्रन्थ हो ।
उनले मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी स्वर्गीय महारानीबाट उनले मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानूनविदहरूलाई दिइने उच्च उपाधि प्राप्त गरेका थिए ।
प्रा.डा.सुवेदीको उत्कृष्ट प्राज्ञिक योगदानको कदर गर्दै अक्सफोर्ड विश्व विद्यालयले उनको नाममा वार्षिक स्थायी पुरस्कार स्थापना गरेको छ । क्याम्बोडियामा महत्वपूर्ण राजनीतिक सुधारमा गरेको योगदानका लागि उनको नोवेल शान्ति पुरस्कारका लागि मनोनयन भएको थियो ।
प्रा.डा.सुवेदीले आफूले अध्ययन गरेको लम्जुङ्ग खुदीको अमर माविमा पुस्तकालय निर्माण गर्न उल्लेख्य आर्थिक सहयोग गर्नुका साथै आफ्नो पैत्रिक घर भएको गाउँपालिकामा सामुदायिक भवन बनाउन भूमिदान गरेका छन् ।
आफूले अध्ययन गरेको नेपाल ल क्याम्पसलाई बेलायतमा रहेको आफ्नो पुस्तकालय दान गरेका प्रा.डा.सुवेदीले नेपाल ल क्याम्पसमा अक्षय कोष स्थापना गर्न उल्लेख्य रकम समेत प्रदान गरेका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)का अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ ।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेलाई कीर्तिमय राष्ट्रदीप पदक प्रदान गरिएको छ ।
बेलायतस्थित पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति भण्डारी तथा लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाललाई प्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ ।
बेलायत निवासी साहित्यकार लक्ष्मी राईलाई समाज सेवा रत्न अलंकार प्रदान गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया