सभापति बानियाँ र नेता गिरी नेतृत्वको टोलीबीच काठमाडौंको टिकटबारे परामर्श, कांग्रेसलाई जिताउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसँग युवा नेता देवेन्द्र गिरीसहितका नेता कार्यकर्ताहरूले भेटघाट गरेका छन् ।

शुक्रबार ललितपुरको खुमलटारस्थित सभापति बानियाँको निवासमा भएको भेटवार्तामा प्रदेश सभाको प्रत्यक्षतर्फको टिकटका विषयमा सम्वाद भएको हो । नेता गिरीले काठमाडौं क्षेत्र नं. ९ ‘ख’बाट प्रत्यक्ष दाबी रहेको जानकारी सभापति बानियाँलाई गराएका छन् । बानियाँले टिकटका विषयमा आफू सकारात्मक रहेको र सबैसँग सरसल्लाह गरेर उपयुक्त समयमा उचित निर्णय लिने आश्वासन दिएको युवा नेता गिरीले बताएका छन् ।

सभापति बानियाँसँग नेता गिरीले काठमाडौं क्षेत्र नं. ९ प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’बाट प्रत्यक्षतर्फ टिकटमा दाबी रहेको उल्लेख गरेका थिए ।

सभापति बानियाँले युवाहरूले कांग्रेसलाई नेतृत्व दिएर जानुपर्ने र आफूभन्दा वरिष्ठ नेताहरूको सम्मान गर्नुपर्ने बताएका छन् ।

अहिले गठबन्धन गरेर चुनावमा जानुपर्ने बाध्यता रहेकाले सो विषयलाई ध्यानमा राखेर कांग्रेसका साथै गठबन्धनका उम्मेदवारहरूलाई पनि जिताउन नेता कार्यकर्तालाई सभापति बानियाँले निर्देशन दिएका छन् ।

नेता गिरीले भने, ‘प्रदेशतर्फ मेरो दाबी छ । सभापति ज्यूसँग मेरो कुरा राखेको छु । उहाँले पनि ध्यान दिएर मेरा कुरा सुन्नुभएको छ । मलाई उचित ठानेर टिकट दिनुभयो भने म पनि जित्छु । कांग्रेसका उम्मेदवारलाई पनि जिताउने हिम्मत राख्छु । सभापति ज्यूले अहिले तेरो पालो आएको छैन । अर्को पटकको लागि वा अन्य पदमा तयारी गर भन्नुभयो भने पनि म तयर छु ।’

काठमाडौंको नागार्जुन नगरपालिका–७ निवासी गिरी २०५८ सालदेखि नेपाली विद्यार्थी संघको सदस्यता लिएपछि कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

उनी २०७२ सालमा नागार्जुन नगरपालिका वडा कार्यसमितिको सभापति भएका थिए । २०७४ सालको स्थानीय चुनावमा सात सिट जिताउन उनी सफल भएका थिए ।

नेता गिरीले केन्द्रीय कार्यसमितिको निर्णयानुसार नगर वडा कार्यसमितिको निर्णयमा १०० प्रतिशत क्रियाशील सदस्यता बढाउन सफल भएका थिए ।

नेताहरूसँगको सहमति तथा सहकार्यमा प्रतिनिधि सभामा नेता ध्यानगोविन्द रंजितलाई तथा नेपाली कांग्रेसलाई जिताउन आफ्नो तर्फबाट भूमिका खेलेका थिए ।

स्थानीय चुनावमा नागार्जुन नगर प्रमुख पदका उम्मेदवार साथै चन्द्रगिरी नगरप्रमुख एवं नेपाली कांग्रेसलाई जिताउन उनको विशेष भूमिका पनि छ ।

Published : Friday, 2022 September 16, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया