भ्रष्टाचारसहित काण्डैकाण्ड लागेका चालेन्द्रलाई एमालेले ‘डोको’मा हालेर बोक्यो, विष्णु पौडेलको चकित पर्ने कुरा

काठमाडौं । एमालेले साथ दिएपछि पुलपुलिएका सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मिडिया र पत्रकारहरूलाई दोष दिएर पानीमाथिको ओभानो हुन खोजेका छन् ।

मंगलबार प्रतिनिधिसभा महाभियोग सिफारिस समितिको बैठकमा जबराले ‘आफूले बोल्दै नबोलेको कुरा सांसदले मिडियामा बोलेको’ भन्दै आपत्ति जनाएका हुन् ।

उनले आफ्नो भनाइलाई बङ्ग्याएर मिडियामा पत्रकारहरूले भ्रम छर्न खोजेको आरोप लगाएका छन् । सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा आफ्नो भनाइ बङ्ग्याएर ‘भ्रम छर्ने काम गरिएको र अन्य केही व्यक्तिको चरित्र हत्या गर्न खोजेको’ भन्दै आपत्ति जनाएका छन् ।

‘मिडियाले उनले आफूअनुकूलको कथा बुनेर कसैलाई पनि अपमान गर्न नपाउने’ बताएका छन् ।

जबराले ‘सर्वोच्चका लागि भवन निर्माण गर्न जमिन उपलब्ध गराइदिएकोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र बजेट उपलब्ध गराइदिएकोमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद’ दिए । आफ्नो भनाइ तोडमोड गरिएको उनको दाबी छ ।

उनले केही सञ्चारमाध्यममा ‘भवन अनियमितता भएको र त्यसमा अन्य व्यक्तिलाई समेत अनावश्यक मुछेको’ भन्दै आपत्ति जनाएका छन् ।

समितिकै केही सदस्यले ‘गलत सूचना दिएपछि भवन ठेक्कामा केपी ओली र विष्णु पौडेलको नाम लिएको सम्बन्धमा जबरालाई सर्वोच्च भवन निर्माण सम्बन्धमा थप बोल्ने’ मौका दिइएको थियो ।

‘तत्कालीन प्रधानमन्त्रीले जमीनको प्रबन्ध र कोरोना संकटका बेला पनि अर्थमन्त्रीज्यूले बजेट उपलब्ध गराइदिएका कारण सर्वोच्चको भवन बनाउन सम्भव भएको भन्ने कुरा राखेको थिएँ, मेरो भनाइलाई गलत ढंगले बंग्याइएकोमा दुःख लागेको छ, यो गलत हो,’ जबराले भने, ‘यस्ता गलत समाचार सुनियोजित रूपमा आएको छ ।’

एमालेले निलम्बित प्रधानन्यायाधीश जबराको विषयमा आएका समाचारहरूप्रति चासो र चिन्ता व्यक्त गर्दै समितिको प्रवक्ता तोक्न माग गरेको छ ।

मंगलबारको बैठकले समिति सचिव लक्ष्मीप्रसाद गौतमलाई प्रवक्ता तोकेको छ ।

अन्य सांसदले दिएका समाचारमा कुनै सत्यता नहुने भन्दै समितिले प्रवक्तासँग मात्र त्यस सम्बन्धमा औपचारिक जानकारी लिन सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।

जबराको बयानअघि बसेको महाभियोग सिफारिस समितिमा एमालेका सांसदले अनधिकृत ढंगले बैठक सार्ने गरिएको भन्दै आपत्ति जनाएका छन् ।

एमाले उपाध्यक्षसमेत रहेका समिति सदस्य विष्णु पौडेलले सभापतिले बैठक मिति तोकिसकेपछि अमुक सदस्यको अनुपस्थिति नहोस् भनेर अनधिकृत ढंगले बैठक सारिएकोमा आपत्ति जनाएका छन् ।

‘बैठकमा भएका कुरा गलत ढंगले सम्प्रेषण गरिएको’ भन्दै एमालेका नेता पौडेलले आपत्ति जनाएका छन् ।

एमाले नेता पौडेलले मिडियालाई प्रवेश दिन प्रस्ताव राखेका थिए । तर, सत्तापक्षका सांसद राजी नभएपछि मिडिया प्रवेशमा रोक लगाइएको थियो ।

यसअघि, मिडिया प्रवेश रोक लगाइएको बैठकमा जबराले दिएको बयान दलगत केही सदस्यले अस्पष्ट र भ्रामक सूचना दिएको आरोप एमाले र जबराको छ ।

Published : Wednesday, 2022 September 14, 7:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया