सन्दीप लामिछानेलाई एयरपोर्टमै समात्न प्रहरीलाई आदेश, पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेकोछ ।

बिहीबार लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

जबर जस्ती करणीको कसूरमा प्रहरी बृत्त गौशालामा परेको जाहेरी दरखास्तका आधारमा लामिछानेलाई पक्राउ पुर्जी जारी भएको छ ।

‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दीप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ’, प्रेस नोटमा उल्लेख छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध एक किशोरीले बलात्कारको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

सो किटानी जाहेरीका विषयमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट लामिछानेलाई पक्राउ गर्न आदेश लिएको छ ।

क्रिकेट खेल्न विदेशमा रहेका लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेवित्तिकै पक्राउ गर्नेछ ।

यसअघि, किशोरीले लामिछाने उपर जवरजस्ती करणी (जजक) कसूरमा प्रहरी बृत्त गौशालामा परेको जाहेरी दरखास्त दिएकी थिइन् । किशोरीले साथीसँग गएर किटानी जाहेरी दिएकी थिइन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, आरुचौर स्थाई घर भई लामिछाने हाल काठमाडौंको बुढानीलकण्ठमा बस्दै आएका छन् ।

भदौ ५ गते काठमाडौं र भक्तपुरको बिभिन्न स्थानहरूमा लगेर पुनः काठमाडौं ल्याई रातको करीव ११ बजेर ५५ मिनटमा काठमाडौंको एक होटलको कोठा नं. ३०५ मा भदौ ६ गते बिहान १ बजेर २५ मिनटमा पटक÷पटक जबर्जस्ती करणी गरेको आरोप ती किशोरीले लामिछानेमाथि लगाएकी छिन् ।

प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्रमा लगेर बिस्तृत स्वास्थ्य परीक्षण पनि गराएको छ ।

अनुसन्धानका बिविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्म रुपमा थप अनुसन्धान भइरहेको छ ।

Published : Thursday, 2022 September 8, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया